हिसानको महाधिवेशन सार्ने तयारी, नीतिगत प्रस्टता र कार्यान्वयन गर्न सक्ने नेतृत्वको खाँचो

काठमाडौं/१५ चैत – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)को नवौं महाधिवेशन सर्ने भएको छ । यही चैत २१ र २२ गर्ने भनिएपनि अहिले छलफलकै विषयमा रहेको र विभिन्न परिस्थिति उत्पन्न भएकाले महाधिवेशन सर्न सक्ने हिसानका अध्यक्ष रमेश सिलवालले बताए ।


खबर एनुकेशनसँग कुरा गर्दै अध्यक्ष सिलवाल विभिन्न परिस्थिति उत्पन्न भएकाले अहिले छलफलकै विषयमा रहेको र सबै अवस्थाको आँकलन गरेर मिति घोषणा गरिने जानकारी दिए । उनले आगामी दिनमा नीतिगत प्रस्टता र त्यो नीतिलाई कार्यान्वयन गर्न सक्ने योग्य सक्षम व्यक्तिको नेतृत्वमा कमिटी गठन गरिने समेत बताए ।


उनले भने ‘यही चैत २१ र २२ गते महाधिवेशन गर्ने भनिएपनि अहिले हामी छलफलकै विषयमा छौँ । विभिन्न परिस्थिति उत्पन्न भएको हुनाले महाधिवेशन सर्न सक्ने स्थिति पनि छ । त्यसको सबै आँकलन गर्छौ, हाम्रो अधिकार पनि छ, कर्तव्य र दायित्व पनि छ । त्यो दुबै पक्षलाई हेरेर मिति घोषणा गर्छौ ।’


सिलवालले आफ्नो ८ वर्षे कार्यकालमा हिसानलाई देख्ने, सुन्ने, लेख्ने संस्था बनाउन सफल भएको बताए । मुख्य गरेर नीतिगत तहमा धेरै अभ्यास गरको, सरकारले ल्याएका नीति तथा कार्यक्रमहरूमा राम्रा कामहरूको प्रशंसा गरिएको र कमजोरीहरूमा सुधार गर्नका लागि काम गर्दै आएको दाबी गर्दै समस्या उठाउने संस्थाका रूपमा हिसान कहिलै नरहेको समस्यालाई समाधान दिएर त्यसको सम्बोधन गर्ने काम गर्दै आएको बताए ।


साथै राष्ट्रको शिक्षालाई कसरी राम्रो, गुणस्तरीय बनाउने, विद्यालय शिक्षादेखि उच्च शिक्षा तथा प्राविधिक शिक्षालाई कसरी राम्रो बनाउने लगायतका विषयमा बोल्दै आएको उनको भनाई छ । उनले हिसान निजी शैक्षिक संस्थाहरूकै संस्था भएकाले आफूहरूका कुरा उठाउँदै आएपनि यस बाहेक सामुदायिक वा सरकारी शिक्षालाई पनि कसरी बलियो बनाउँदै लान सकिन्छ भन्ने विषयमा अवधारणा पेस गरिएको तर्क गरे । कतिपय ठाउँमा नबुझेर वा बढि बुझेर, बुचपचाएर समस्या आएको र त्यस्ता निजी संस्थाहरूका समस्याका विषयहरूलाई समाधानका रूपमा अगाडी बढाएको बताए । हिसानमा सबै विचार बोक्ने, राम्रो गरेका, ठिकै गरेका र चल्न नसकेका सबैलाई समेटेर एकताबद्ध भएर अगाडी बढिरहेको उनको भनाई छ ।


हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले विभिन्न जिल्ला र प्रदेशको अधिवेशन भईरहेको र बाँकी रहेका प्रदेशको पनि अधिवेशन हुने जानकारी दिँदै हिसानले नवौं महाधिवेशनको तयारी गरिरहेको जानकारी दिए । केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा चैत २१ र २२ गतेलाई महाधिवेशनको मिति तोकिए पनि केही जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न नभएको अवस्थामा केही समय सार्ने विषयमा छलफल भईरहेको बताए ।


आउने महाधिवेशनलाई प्रमुख मुद्दाका रूपमा विद्यालय शिक्षादेखि उच्च शिक्षाका विधेयकहरू, प्राविधिक शिक्षाका विषय, नेपालको शैक्षिक क्षेत्र र निजी क्षेत्रको लगानी र भूमिकाको बारेमा केन्द्रीत हुने धारणा व्यक्त गरे । उनले सफल नेतृत्वको चयन सँगसँगै नेपालको शिक्षालाई अब नयाँ ढंगले रूपरेखा कोर्ने, रोडम्याप बनाउने र उच्च शिक्षासम्म विद्यार्थीहरू नेपालमै पढ्न सक्ने वातावरण बनाउने सन्दर्भमा जिल्लादेखि प्रदेशसम्म छलफल भईरहेको उल्लेख गर्दै विभिन्न निकायहरूमा, संसदीय शिक्षा समितिमा, विभिन्न पार्टीका शिक्षा विभागहरूमा, प्रधानमन्त्री तथा शिक्षा मन्त्रीसम्म सवाल उठाइएको र सुनुवाइ भईरहेको दाबी गरे ।


कस्तो नेतृत्व आयो भने निजी शैक्षिक संस्था र विद्यार्थीले खोजे जस्तो शिक्षामा रूपान्तरण गर्दै नेतृत्व समालेर अगाडी बढ्न सक्छ भन्ने खबर एजुकेशनको प्रश्नमा उनले भने ‘अहिलेको विद्यमान अवस्थामा नेपालमा अध्ययन गरेर विद्यार्थीहरू विदेश जानुपर्ने अवस्था छ, यहाँका विश्वविद्यालयहरूले सम्बोधन गर्न नसकेको अवस्था छ, पास गरेका विद्यार्थीहरूलाई रोजगार बजारले सहज रूपमा रोजगार दिन नसकेको अथवा रोजगारको दायरा र बजार खम्चिदै गएको छ, आर्थिक अवस्था र विभिन्न राजनीतिक अस्थिरताले गर्दा विद्यार्थीहरू विदेशीयको समग्र रूपमा देख्न सक्छौँ । यसलाई सम्बोधन गर्नुपर्ने मुख्य चुनौती शैक्षिक संस्थाहरूलाई नै छ । आउने महाधिवेशनले यो विषयलाई गम्भीर रूपमा उठाउनु पर्छ जस्तो लाग्छ ।’


विश्वविद्यालयमा राजनीतिक हाबी भइरहेको अवस्थामा विद्यार्थी अभिभावकले खोजे जस्तो शिक्षालाई सम्बोधन गर्न नसकिएको, शिक्षा मन्त्रालयले निरीह रूपमा हेरिरहेको, सरकार आउँने जाने भईरहेको, विश्वविद्यालयका पदाधिकारीहरूले पनि पद लिनका लागि मात्रै काम गरिरहेको बताउँदै यसलाई नयाँ ढंगले सोच्नु पर्ने र यसलाई चिर्नको लागि निजी क्षेत्रको उपस्थित हुनुपर्नेमा जोड् दिए ।


विद्यार्थीलाई डिग्री मात्रै दिने नभई पाठ्यक्रम बनाउने देखि लिएर विद्यार्थीलाई रोजगार बजारमा जाने खालको ऐन ल्याउनु पर्ने आवश्यकता रहेको साथै त्यो ऐनमा निजी क्षेत्रको सहभागिता अनिवार्य हुनुपर्ने तर्क दिँदै महाधिवेशनबाट आउने अबको नयाँ नेतृत्वले यी सवालको खोजी, अनुसन्धान गर्न जरुरी रहेको बताए ।