विद्यालय शिक्षा विधेयकलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह

काठमाडौं/१५ चैत – प्रमुख दलका मुख्य सचेतकहरू र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिबिच विद्यालय शिक्षा विधेयकको विषयमा छलफल भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल गरिएको हो ।


छलफलमा सहभागी सबै दलले विधेयकलाई तत्काल अघि बढाउन आफ्नो दल सकारात्मक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई यस विधेयकमाथि द्रुत गतिमा काम अगाडि बढाउन आग्रह गरेका छन् । साथै, विधेयकलाई निष्कर्षमा पु¥याउन आवश्यक पर्ने सहजीकरण गर्ने आश्वासन पनि उनीहरूले दिएको सचिवालयको भनाई छ ।


उक्त छलफलमा हाल शिक्षा विधेयकका सन्दर्भमा भइरहेको शिक्षक आन्दोलनको विषयमा कुराकानी भएको र सहभागीहरूले शिक्षकहरूसँग यसअघि सरकारले गरेका सम्झौताहरूलाई विधेयकमा सम्बोधन गर्न सुझाव दिएका छन् ।


शिक्षा मन्त्रालयमा भएको यो छलफलले विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिनुका साथै अब प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यस विषयमा थप छलफल गरी विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अगाडि बढाउने सचिवालयले जानकारी दियो ।