काठमाडौं/ ७ चैत – अख्तियार अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकसहित ४ जना उपर मुद्दा दयर गरेको छ । कुलेश्वर माध्यमिक विद्यालय, कुलेश्वर, काठमाडौँका प्रधानाध्यापक सानुकान्छा नेपालसहित ४ जना उपर विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।
प्राथमिक तहमा कार्यरत राहत शिक्षक विद्यालयमा अनुपस्थित रहेको समयमा निजको स्थानमा सहायक प्रधानाध्यापकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षकको रूपमा राखेको र अनुपस्थित शिक्षकको नाममा तलब माग गरी निकासा लिई निजकै नामबाट चेक जारी गरी तलबसमेत खुवाएकोले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
गैरकानुनी रूपमा शिक्षक राख्ने प्रधानाध्यापकलाई कारबाहीका लागि उजुरी परेपछि अनुसन्धान हुँदा प्रधानाध्यापक सानुकान्छा नेपालले राहत दरबन्दीका करार शिक्षक विद्यालयमा अनुपस्थित रहेको अवस्थामा सोको जानकारी काठमाडौँ महानगरपालिकालाई नगराई झुट्टा बिल भरपाई बनाई भत्ता निकासा गरेको आयोगको आरोप छ ।
उनले २०८० माघ देखि २०८१ असार महिनासम्मको तलब भत्ता निकासा माग गरेको, अनुपस्थित शिक्षकको ठाउँमा गैरकानुनी रुपमा विद्यालयमा सट्टा शिक्षकको रूपमा रहेको श्रुति भण्डारी भनिने अम्बिका घिमिरेलाई फागुन १ गतेदेखि २०८१ असार महिनासम्म अध्यापन गरे÷गराएको भनी १ लाख ५७ हजार ९ सय १५ रुपैयाँ तलब भत्ता नियमविपरीत भुक्तानी गरेको ठहर छ ।
यसैगरी उक्त विद्यालयका सहायक प्रधानाध्यापक शिवहरि घिमिरेले आफ्नो नाता पर्ने श्रुति भण्डारी भनिने अम्बिका घिमिरेलाई विद्यालयमा अनुपस्थित रहेका प्राथमिक तहको राहत दरबन्दीका शिक्षकको ठाउँमा गैरकानुनी रूपमा सट्टा शिक्षकको रूपमा अध्यापन गर्न विद्यालयका प्रधानाध्यापकसँग मिलेमतो गरी नक्कली कागजात खडा गरी अनुपस्थित शिक्षकको नाममा रकम निकासा माग गरी भुक्तानी दिएको आयोगले जनाएको छ ।
साथै सहायक (लेखापाल) स्मृति रेग्मीले, सट्टा शिक्षकको रूपमा अध्यापन गरेकी श्रुति भण्डारी भनिने अम्बिका घिमिरेसहित चार जनालाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय गरी बिगो असुल उपर गर्न विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।