छिटफुट बाहेक आजको एसईई परीक्षा मर्यादित रूपमा सम्पन्न : अध्यक्ष शर्मा

काठमाडौं/७ चैत – आजदेखि सुरुभएको एसईईको परीक्षाको पहिलो दिन आज केही छिटफुट समस्या बाहेक शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । केही परीक्षा केन्द्रहरूमा एकाध समस्या देखिएको र समस्या समाधानका लागि निर्देशन दिइसकिएको जानकारी दिँदै मर्यादित रूपमा आजको परीक्षा सम्पन्न भएको जनाएको हो ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आजको एसईई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिँदै केही ठाउँमा सामान्य समस्या आएको ती समस्या समाधानका लागि इकाइ प्रमुख र जिल्ला प्रमुखलाई सम्पर्क गरेर फेरी समस्या नआउने गरी व्यवस्थापन गर्न सतर्क गराइएको बताए ।


उनले जुम्लाको सरस्वती मावि तलसीमा १६ जना परीक्षार्थीलाई नयाँ ग्रेडवृद्धिको प्रश्नपत्र दिनुपर्नेमा पुरानो ग्रेडवृद्धिको प्रश्नपत्र दिइएकोमा तुरुन्तै नयाँ ग्रेडवृद्धिको प्रश्नपत्र उपलब्ध गराइएको जानकारी दिए । रूपन्देहीमा एक जान नक्कली परीक्षार्थीलाई निष्कासन गरिएको, सिराहामा एक जना निरीक्षकले मोबाइल लुकाएर लगिएका कारण निष्कासन गरिएको जानकारी दिए ।


यसैगरी सिराहामा प्रश्नपत्र बाहिरिएको कुरा आएपछि इकाइ प्रमुख र जिल्ला अधिकारीसँग सोधपुछ हुँदा त्यस्तो नरहेको पाइएको बताए । रौतहटको मौलापुर माविको परीक्षा केन्द्रको भवन पछाडीबाट लुकाएर परीक्षा हलभित्र पठाइएको ७६ थान मोबाइल जफत गरिएको शर्माले खबर एजुकेशनलाई जानकारी दिए ।