विद्यालयबाट उत्र्तीण हुने बित्तिकै बाहिर जाने क्रमले विश्वविद्यालय खाली हुँदैछन् : प्रधानमन्त्री

काठमाडौं/७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयबाट उत्र्तीण हुने बित्तिकै बाहिर जाने क्रम रहेको बताएका छन् । देशमै अवसर हुँदाहुँदै बाहिर जाने प्रवृत्ति राम्रो नभएको बताउँदै उक्त धारणा व्यक्त गरेका हुन् ।


बिहिवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सँसदहरूले सोधेको प्रश्नको उत्तर दिँदै केही विश्वविद्यालयहरू र क्याम्पसहरू खाली हुँदै गएको उल्लेख गर्दै विद्यालयबाट उत्र्तीण हुने बित्तिकै बाहिर जाने क्रम रहेको बताए ।


उनले भने ‘सम्माननीय सभामुख महोदय, युवाहरु बाहिर जाने बाध्यता पनि केही होला । माननीयज्यूले पनि भन्नु भएको छ, केही विश्वविद्यालयहरू खाली हुँदै छन्, क्याम्पसहरू खाली हुँदै छन्, विद्यालयबाट उत्र्तीण हुने बित्तिकै बाहिर जाने क्रम छ । कतिपय ठाउँहरूमा विद्यालयमा भर्ना सङ्ख्या पनि घट्दो छ । यहाँ कलेज पढेका विद्यार्थीहरूले दुनियाँका कलेजहरूमा प्रतिस्पर्धा पनि गरेका छन्, राम्रो नतिजा पनि ल्याएका छन् । पढाइ अत्यन्तै कमजोर छ भन्ने मात्रै होइन, हामीले आपूmलाई जसरी पनि एउटा हिनताबोधीग्रन्थीमा राखिरहनुु पर्ने अथवा आफ्नो उपलब्धिलाई न्यून देखाउनु पर्ने पनि आवश्यकता पनि हुँदैन ।’


यसैगरी हाम्रो देशको पढाइ त्यस्तो नराम्रो अथवा दुनियाँमा प्रतिस्पर्धा गर्नै नसक्ने खालको नरहेको उनले दाबि गरे । फि स्टक्चर अन्त भन्दा सस्तो भएपनि बाहिर गएर यहाँको भन्दा ठूलो शुल्क तिरेर खर्च गरेर पढ्नु पर्ने उल्लेख गर्दै यहाँ त्यही शिक्षा, त्यसै लेबलको, त्यही कोर्स पढ्न बाहिर जन नहुने बताए ।


त्यही कुरा हामीले नयाँ पिढीलाई सुशिक्षित गर्न जरुरी छ । हामीले नयाँ पिढीलाई बताउनु पर्छ कि यही अवसर छ भने, अवसर नहुने बेग्लै कुरा हो, अवसर हुँदाहुँदै बाहिर जाने प्रवृत्ति राम्रो होइन । देशलाई माया गर्ने कुरा सिकाउनु पर्छ, आफ्नो देश बनाउने कुरा सिकाउनु पर्छ उनले भने ।