काठमाडौं/५ चैत – शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले सामुदायिक विद्यालयको प्रधानाध्यापक पदमा बहाल हुदाहुदै निजी विद्यालयमा लगानी गरेको भन्दै स्पष्टीकरण सोधेको छ । अर्जुनचौपारी गाउँपालिका स्थित पञ्चकन्या माध्यमिक विद्यालयकका प्रधानाध्यापक विष्णुप्रसाद तिवारीलाई ७ दिन भित्र स्पष्टीकरण पेस गर्नु भनिएको हो ।
तिवारीलाई सोधिएको पत्रमा विगत समय देखी एक सामुदायिक विद्यालयको प्रधानाध्यापक पदमा बहाल हुदाहुदै निजी विद्यालय शितलादेवी ईङ्लिस बोडिङ स्कुलमा ५५% शेयर लगानी रहेको कुरा प्रमाण सहितको उजुरी आएको साथै सोही कारणले सामुदायिक विद्यालयको कामकार्यमा स्वार्थ समेत बाझिएको भनि उजुरी प्राप्त भएको र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं. ११० मिति २०८१।१०।१४ को पत्रानुसार स्पष्टीकरण पेस गर्न भनिएको छ ।
पत्रमा भनिएको छ ‘एक सामुदायिक विद्यालयको स्थायी शिक्षक प्रधानाध्यापक समेतले शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा ५ (ख) र (च) उलङ्घन गरेको देखिएकाले तपाईँलाई सोही ऐनको दफा १७ को उपदफा २ अनुसार किन कारबाही नगर्ने ? नगर्नु पर्ने कुनै कारण भए पत्र प्राप्त भएको मितिले ७ दिन भित्र स्पष्टिकरण पेस गर्नु हुन अनुरोध छ । अन्यथा प्रचलित ऐन कानुन वमोजिम कारबाही हुने ब्यहोरा समेत यसै पत्रद्धारा जानकारी गराइन्छ ।’



