एउटै सामुदायिक विद्यालयका ६२० जना विद्यार्थी एसईईमा सहभागी हुँदै

बुटवल/५ चैत – एउटै सामुदायिक विद्यालयका ६सय २० जना विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने भएका छन् । चैत ७ गतेदेखि सञ्चालन हुने २०८१ को एसईई परीक्षामा बुटवलको कान्ति माध्यमिक विद्यालयबाट रूपन्देही जिल्लामै सबै भन्दा धेरै विद्यार्थी सहभागी हुँदै छन् ।


विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले रूपन्देही जिल्लामै एउटै विद्यालयबाट एसईईमा सहभागी हुने विद्यार्थीको यो सङ्ख्या सबै भन्दा धेरै रहेको बताए । उनले कान्ति माध्यमिक विद्यालयबाट ५७६ र कान्ति माध्यमिक विद्यालय खुलाबाट ४४ जना गरेर ६२० जना विद्यार्थी एसईईमा सहभागी हुने खबर एजुकेशनलाई जानकारी दिए ।


विद्यालयले साधारण तर्फ र खुला तर्फ विद्यालय सञ्चालन गर्दै आईरहेको र यो वर्ष खुला विद्यालयबाट मात्रै ४४ जना एसईईमा सहभागी हुँदैछन् । अघिल्लो वर्ष खुला विद्यालयबाट एसईई दिने सङ्ख्या ८९ रहेको ज्ञवालीले बताए । उनले २०६५ सालदेखि निरन्तर खुला विद्यालय सञ्चालन गर्दै आईरहेको र विद्यालयमा कक्षा ८ र १० मा भर्ना लिने गरिएको जानकारी दिए ।


खुला तर्फ सामान्य लेखपढ गर्न जानेको कक्षा ५ सम्म पढेकालाई कक्षा ८ मा भर्ना गर्ने व्यवस्था रहेको र कक्षा ८ पास गरेकालाई कक्षा १० मा भर्ना गरेर एसईईमा सहभागी हुने व्यवस्था रहेको बताए । खुला विद्यालय तर्फ प्रहरी, सेना, विभिन्न कर्मचारी, कार्यालय सहयोगी, सहचालक लगायतले पढ्ने गरेको उनको भनाई छ । साथै यो वर्ष मात्रै कक्षा ८ को परीक्षामा विद्यालयमै कार्यरत सहचालक र कार्यालय सहयोगी समेत सहभागी हुने बताए ।


यसैगरी खुला बाहेक साधारण तर्फको विद्यालयमा अघिल्लो वर्ष ४ सय ७५ विद्यार्थीहरू एसईई परीक्षामा सहभागी भएका थिए भने ८७ प्रतिशत विद्यार्थीहरू पास हुन सफल भएको विद्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष १०१ जना बढी विद्यार्थी एसईईमा सहभागी हुँदै छन् । विद्यालयमा कुल ५ हजार ६ सय विद्यार्थीहरू अध्ययनरत छन् ।