काठमाडौँ /३ चैत – यो सङ्क्षिप्त लेखको आशय त्रिभुवन विश्वविद्यालयमा ट्रमा नै उत्पन्न गराउने गरी भएका विद्यार्थी गतिविधिका बारेमा केलाउनु र यसका निराकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाउनु हो ।
ट्रमाको अर्थ
ट्रमाको अर्थ गहिरो मानसिक, भावनात्मक वा शारीरिक चोट हो, जसले व्यक्तिलाई लामो समयसम्म असर पु¥याउन सक्छ । यो कुनै दुखद घटना, हिंसा, दुर्घटना, दुव्र्यवहार, वा गम्भीर तनावपूर्ण परिस्थितिका कारण उत्पन्न हुन सक्छ। ट्रमाले व्यक्तिको मानसिक स्वास्थ्य, व्यवहार, सम्बन्ध, तथा दैनिक जीवनमा असर पार्न सक्छ ।
विद्यार्थीमा ट्रमाको असर
विद्यार्थीमा ट्रमाको गहिरो असर पर्न सक्छ, जसले शारीरिक, मानसिक, भावनात्मक, तथा सामाजिक विकासलाई प्रभावित गर्न सक्छ। यसले असर गर्ने प्रमुख क्षेत्रहरूमा मस्तिष्क र संज्ञानात्मक विकास, भावनात्मक र मानसिक स्वास्थ्य, व्यवहारगत बानी, शारीरिक स्वास्थ्य र शिक्षा र भविष्यमा पार्ने दीर्घकालीन प्रभाव पर्दछन् । यदि समयमै उचित परामर्श, सहयोग, तथा सुरक्षित वातावरण प्रदान गरिएन भने, ट्रमाले दीर्घकालीन मनोवैज्ञानिक समस्या निम्त्याउन सक्छ। विद्यार्थीहरूको भावनात्मक सुरक्षा सुनिश्चित गर्न अभिभावक, शिक्षक, र समुदायको महत्त्वपूर्ण भूमिका हुन्छ ।
विद्यार्थीमा ट्रमा न्यूनीकरणका उपाय
शिक्षकहरूले विद्यार्थीहरूको ट्रमा कम गर्न महत्वपूर्ण भूमिका खेल्छन्। उनीहरूले निम्न तरिकाले विद्यार्थीलाई सहयोग गर्न सक्छन् :
१. सुरक्षित र सहयोगी वातावरण सिर्जना गर्ने – विद्यार्थीहरूले सुरक्षित महसुस गर्ने कक्षा वातावरण बनाउने, जहाँ उनीहरू खुला रूपमा आफ्ना भावना व्यक्त गर्न सकून् ।
२. सहानुभूति र संवेदनशीलता देखाउने – विद्यार्थीका समस्याहरूलाई गम्भीर रूपमा लिँदै उनीहरूको भावनालाई सम्मान गर्ने ।
३. सुनीदिने र सहयोग गर्ने – विद्यार्थीहरूको अनुभव सुन्ने, उनीहरूलाई आवश्यक परामर्श वा सहयोग प्राप्त गर्न मद्दत गर्ने ।
४. सकारात्मक सम्बन्ध निर्माण गर्ने – विद्यार्थीहरूसँग विश्वासपूर्ण सम्बन्ध बनाउने, जसले उनीहरूलाई भावनात्मक रूपमा सुरक्षित महसुस गराउँछ ।
५. तनाव व्यवस्थापन तथा मनोवैज्ञानिक सहयोग प्रदान गर्ने – ध्यान, शारीरिक व्यायाम, वा सिर्जनात्मक गतिविधिहरू मार्फत उनीहरूको तनाव घटाउन मद्दत गर्ने ।
६. अनुकूलन योग्य शिक्षण विधिहरू प्रयोग गर्ने – ट्रमाले सिकाइ प्रक्रियामा असर गर्न सक्ने भएकाले, लचकदार र सहयोगी शिक्षण पद्धति अपनाउने ।
७. समुदाय र अभिभावकसँग सहकार्य गर्ने – विद्यार्थीको भावनात्मक भलाइका लागि अभिभावक, परामर्शदाता, र समुदायका अन्य निकायहरूसँग समन्वय गर्ने ।
शिक्षक तथा कर्मचारीलाई पनि ट्रमा हुन सक्ने
ट्रमा विद्यार्थीलाई मात्र नभएर शिक्षक /प्राध्यापक र शिक्षण संस्थामा काम गर्ने कर्मचारीलाई पनि हुन सक्छ । शिक्षक र विद्यार्थी एक अर्काका ट्रमा निराकरण गर्ने माध्यम हुन सक्छन् । शिक्षकहरू सचेत, संवेदनशील, र सहयोगी भएमा विद्यार्थीहरूको ट्रमा व्यवस्थापन गर्न सकिन्छ र उनीहरूको समग्र सिकाइ तथा मानसिक स्वास्थ्य सुधार गर्न मद्दत पुग्छ ।
त्रिभुवन विश्वविद्यालयमा ट्रमा आतङ्क
त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले कक्षाकोठा, कार्यालय तथा अन्य भौतिक संरचनामा तोडफोड गर्ने, साथै साना विषयमा पनि प्राध्यापक तथा प्रशासनिक अधिकारीहरूमाथि हिंसा गर्ने घटनाहरूले शिक्षक, कर्मचारी र पदाधिकारीहरूमा गहिरो मानसिक असर पार्न सक्छ। यस्तो निरन्तर तनावपूर्ण वातावरणका कारण शिक्षकहरूले विभिन्न प्रकारका ट्रमा जन्य समस्याहरू भोग्न सक्छन् ।
शिक्षक कर्मचारीहरूमा ट्रमाको प्रभावहरू
१. मानसिक र भावनात्मक प्रभाव
– निरन्तर भय र असुरक्षित महसुस गर्ने ।
– तनाव, चिन्ता, तथा डिप्रेसनको जोखिम बढ्ने ।
– पढाउने उत्साह तथा प्रेरणा गुम्ने ।
– रिस, आक्रोश वा आत्मग्लानि उत्पन्न हुनसक्ने ।
२. शारीरिक स्वास्थ्यमा असर
– अनिद्रा वा दुःस्वप्न आउने ।
– उच्च रक्तचाप तथा अन्य तनावजन्य रोगहरू (जस्तै, हृदय रोग) देखिन सक्ने ।
– रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर बारम्बार बिरामी पर्ने ।
३. व्यावसायिक जीवनमा असर
– कक्षा सञ्चालन गर्न डर वा हिचकिचाहट महसुस गर्ने ।
– पढाउने गुणस्तरमा कमी आउने ।
– विश्वविद्यालय छोड्ने वा पेशा परिवर्तन गर्ने सोच आउन सक्ने ।
– विद्यार्थीहरूसँग स्वस्थ सम्बन्ध बनाउने क्षमतामा कमी आउन सक्ने ।
४. पारिवारिक तथा सामाजिक जीवनमा असर
– घरमा पनि मानसिक तनावको असर देखिन सक्ने ।
– समाजसँग अलग रहने वा आत्म सम्बन्ध कमजोर हुने ।
– परिवारका सदस्यहरूसँग असहज सम्बन्ध बन्ने ।
विद्यार्थीहरूको हिंसात्मक गतिविधिले शिक्षक कर्मचारी र अन्य पदाधिकारीहरूमा गहिरो मानसिक, शारीरिक र व्यावसायिक असर पार्न सक्छ। यसको समाधानका लागि सुरक्षा व्यवस्था सुधार गर्ने, मनोसामाजिक सहयोग प्रदान गर्ने, कानुनी संरचना बलियो बनाउने, तथा शिक्षकहरूको भावनात्मक भलाइ सुनिश्चित गर्न आवश्यक छ । विश्वविद्यालय प्रशासन, सरकार, प्राध्यापक र कर्मचारीका संगठन तथा तथा विद्यार्थी संगठनहरूले यस विषयलाई गम्भीर रूपमा लिएर दीर्घकालीन समाधान खोज्नु अपरिहार्य छ ।
बारम्बार किन घट्छन् त ट्रमा उत्पन्न गराउने घटनाहरू विश्वविद्यालयमा ?
ट्रमा उत्पन्न गराउने खालका घटनाहरू स्नातक क्याम्पसको दाँजोमा स्नातकोत्तरका कार्यक्रम सञचालन भएका शिक्षण संस्थामा बढी घटेका पाइएका छन् ।स्नातकमा अध्ययनरत विद्यार्थीहरूका बिचमा केटाकेटीहरूको प्रेम सम्बन्धका कारण छिटपुट रूपमा घटना घटेपनि मात्रात्मक र गुणात्मक असर स्नातकोत्तर तहका क्याम्पसहरूमा बढी छ । हुन त विश्वविद्यालयहरूमा ट्रमा केहो र यसको निराकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा पर्याप्त छलफल नै हुँदैन । यो विषय उच्च शिक्षामा पढाइ हुने एउटा विषय पनि हो ।
यस विषयमा यदाकदा भएका अध्ययन र छलफलमा सहभागी भएपछी शिक्षकले विद्यार्थीमा उत्पन्न ट्रमाको न्यूनीकरण र निराकरणका लागि हरहमेसा प्रयास पनि गर्दछन् । यसका बाबजुद हाम्रा विश्वविद्यालयमा हरहमेसा ट्रमा उत्पन्न गराउने कार्यहरू विद्यार्थीहरूबाट भइरहेको छ । हाम्रा विश्वविद्यालयमा विद्यार्थीले शिक्षक प्राध्यापकलाई ट्रमा उत्पन्न गराएको उदाहरण खोज्न त्रिभुवन विश्वविद्यालयका बेलाबेलाका घटनालाई हेरे पुग्छ । अफिस तोडफोड भएको छ । पढाइ भएको छैन । प्राध्यापक माथि साङ्घातिक आक्रमण भएको छ । प्राध्यापक र पदाधिकारी डरले घरमा लुकेर बस्नु परेको अवस्था छ । देशकै ठूलो र जेठो विश्वविद्यालयमा विद्यार्थीले प्राध्यापक र पदाधिकारीलाई धुर्बे हात्तीको शैलीमा आक्रमण गरीट्रमा उत्पन्न गराउनुका कारण समाधान यस्तो देखिन्छ ।
१. राजनैतिक गतिविधि नै ट्रमा उत्पन्न गराउने पहिलो कारण हुन् । यसको मुहान विद्यार्थी संगठन र स्व वि यू निर्वाचन हो । यसका तीनवटा स्वार्थ तत्कालमा राजनीतिक आडमा चढेर विश्वविद्यालयको स्रोतको दोहन गर्ने, छोटो अवधिमा विना प्रतिस्पर्धा स्थायी नोकरी हात पार्ने र दीर्घकालमा बलबाहुको अभ्यासमा सफल भएपछी राजनीतिक दलका पदका लागि योग्य बनिने । त्यसो त त्यहाँका कतिपय पदाधिकारी र प्राध्यापक पनि विगतमा यस्ता गतिविधिमा नजोडिएका भने होइनन् । पुरानो बानी परेकाले विद्यार्थीलाई उक्साउने काम नभएको पनि होइन । यो दुःख नगरीकन छिटो पद र लाभ हत्याउने बाटो हो । तर यसरी फाइदा लिने व्यक्तिहरू सानो सङ्ख्यामा हुने भएता पनि ठूलो सङ्ख्याका विद्यार्थी र शिक्षकले दुःख ब्यहोर्नु परेको अवस्था छ ।
२. त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा पढ्न जाँदा सम्म विद्यार्थी कुनै पनि पेशामा नजोडिनु अर्को मुख्य कारण हो । सँगैका युवा विदेश पलायन भइ २४ सै घण्टा काममा लाग्दा यताका युवा काम नपाएर स्नातकोत्तर गर्नु परेको पिडा देखिएको हो । पेशाले मानिसलाई जिम्मेवार, अनुशासित र आर्थिक रूपमा बल बनाउँछ । बेरोजगारीको पिडामा संगठनलाई भ¥याङ बनाएर युवाले धुर्बे हात्तीको चरित्र प्रदर्शन गरेका उदाहरण हाम्रा विश्वविद्यालयसँग प्रशस्त छ ।
३. विश्वविद्यालय नियमित रूपमा सञ्चालन हुँदैन । कार्यतालिकाको पालना हुँदैन । नियमित कार्यतालिकाले शिक्षक, विद्यार्थी र कर्मचारीलाई नियमित रूपमा तोकिएका कार्य सम्पादन गर्न मार्ग निर्देश गर्दछ ।
४. विश्वविद्यालयमा भौतिक पूर्वाधार कमजोर छ । कक्षाकोठा पुस्तकालय, प्रयोगशाला, डिजिटल प्रविधि, खेलकुद र मनोरञ्जन लगायतका सुविधाहरू छैनन् वा पर्याप्त मात्रामा छैनन् ।
५. कमजोर पाठ्यक्रमका कारण विद्यार्थी अध्ययन र कार्यक्षेत्रसँग जोडिन पाउँदैनन् । घोकेर पढे पुग्ने विषयलाई मान्यता दिइएको छ । सिकाइ प्रक्रियामा विभिन्न खोजमूलक क्रयाकलापहरू समेटिएका छैनन् । मूल्याङ्कन पद्धतिले सिकाइका लागि मूल्याङ्कन भन्ने मूल भावनालाई समेट्न सकेको छैन ।
६. शिक्षण पेशामा समर्पित प्राध्यापकको अभाव छ जसले विद्यार्थीलाई खोज अनुसन्धान लगायतका सिकाइमुखी क्रियाकलापमा निरन्तर सहयोग गराउन् ।
७. स्नातकोत्तर तहको पढाइ कुनै पेशा वा व्यवसायलाई सहयोग गर्ने प्रकारको हुनु पर्नेमा वेरोजगारलाई अलमल्याउनका लागि चलाइएको जस्तो भएको छ ।
त्यसैले त्रिभुवन विश्वविद्यालयका प्राविधिक विषय बाहेकका स्नातकोत्तरका कार्यक्रममा अध्ययन हुनका लागि स्नातक तहको अध्ययनले सरकारी, गैरसरकारी, सामुदायिक वा निजी क्षेत्रका काममा जोडि सकिएको अनुभवका आधारमा विद्यार्थीले अपनाएको पेशा वा व्यवसायलाई सहयोग पु¥याउने विषय क्षेत्रमा भौतिक कक्षा सञ्चालन गरिने र अन्य इच्छा लागेका विषयमा अनलाइन सेवाका माध्यमबाट पढ्न सकिने प्रबन्ध गरिने हो भने भद्दा स्वरूपको विश्वविद्यालय उपयुक्त आकारमा आउँछ । विद्यार्थीहरू काम र अध्ययनलाई जोड्न कोसिस गर्दछन् । प्रशासनिक खर्च जोगिन्छ । विश्वविद्यालयमा दूव्र्यवहारका घटनामा न्यूनीकरण आउँछ । राजनीति गर्नका लागि मात्र विश्वविद्यालय धाउने अभ्यास कमजोर हुन्छ ।
(लेखक डा. बाबुराम ढुङ्गाना, पाठ्यक्रम विकास केन्द्रका पूर्व निर्देशक हुन ।)