शैक्षिक परामर्श माथि शिक्षा मन्त्रालयको निगरानी : स्वीकृति पत्र हेरेर मात्र सेवा लिन आग्रह

काठमाडौँ /१ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र सेवाग्राहीहरूले परामर्श सम्बन्धी सेवा लिने आग्रह गरेको छ । मन्त्रालयबाट स्वीकृत प्राप्त संस्था हो होइन स्वीकृति पत्र र नवीकरण भएको पत्र हेरी आवश्यक परेको अवस्थामा मन्त्रालयको वेबसाइटबाट एकिन भएर मात्र सेवा लिन आग्रह गरेको हो ।


मन्त्रालयले एक सूचना जारी गर्दै परामर्श सेवा, भाषा शिक्षण तथा तयारी कक्षाको सेवा लिदा लाग्ने सेवा शुल्क र अन्य प्रबन्ध समेत खुलाई संस्थासँग सम्झौता गर्ने र एक प्रति आफूले पनि राख्ने अभिभावक तथा विद्यार्थीलाई भनिएको छ । संस्थासँग भएको दोहोरो सम्झौताको पालना गर्ने र सम्झौतामा उल्लेख भए भन्दा विपरीत कार्य भएमा एक प्रति सम्झौता सहित मन्त्रालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


यसैगरी शैक्षिक परामर्श संस्थाहरूको नविकरण कार्य जारी रहेको र मन्त्रालयबाट हाल सम्म नवीकरण भएका संस्थाहरूको सूची सार्वजनिक गर्नुका साथै आवेदन दिएकाहरूका बाँकी संस्थाहरूको कागजात प्राप्त भएपछि आवश्यक अध्ययन तथा छानबिन गरी थप सूची क्रमशः प्रकाशन गरिने जनाएको छ ।


साथै कुनै पनि संस्था कानुन सम्मत स्थापना नभएको र सम्बन्धित मन्त्रालयबाट सेवा प्रदानको अनुमति लिएको रहेनछ भने स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराई सहयोग गर्ने आग्रह गरिएको छ ।


यस्तो छ मन्त्रालयको सूचना :


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा र तयारी कक्षा सञ्चालनको लागि स्वीकृति प्राप्त गरेका संस्थाहरूलाई सार्वजनिक सूचना जारी गरी नवीकरणका लागि आह्वान भए बमोजिम नवीकरण कार्य जारी रहेको छ । यस मन्त्रालयबाट हाल सम्म नवीकरण भएका सँस्थाहरुको सूची सँलग्न । तोकिएको समयमा निवेदन दिएका तर सम्पूर्ण कागजात पेस गर्न बाँकी रहेका संस्थाहरूको कागजात प्राप्त भएपछि आवश्यक अध्ययन तथा छानबिन गरी थप सूची क्रमशः प्रकाशन गरिने छ ।

हाललाई देहाय बमोजिम गर्नु गराउनु हुन नवीकरण भएका संस्थाहरू, परामर्श लगायतका सेवा प्राप्त गर्ने विद्यार्थी तथा अभिभावकहरूमा अनुरोध गर्दै अन्य सरोकार निकायहरूलाई नियमनमा सहयोगको अपेक्षा सहित यो सूचना प्रकाशन गरिएको छ ।


(क) शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा तयारी कक्षा सञ्चालन अनुमति पाएका संस्थाहरूका लागि :–


१ ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट संस्था सञ्चालनका लागि पाएको स्वीकृति पत्र र आर्थिक वर्ष २०८१/८२ का लागि कार्य सम्पादन गर्न अनुमति पाएको नवीकरण पत्र सबैले देख्ने स्थानमा राख्ने,
२) वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउदा फ्री भिसा, रोजगारीको ग्यारेन्टी तथा डिपेन्डेन्ट भिसा उपलब्ध गराइने जस्ता प्रलोभनयुक्त प्रभाव नपार्ने,
३) नवीकरणका साथ पेस भएका विदेशी शैक्षिक संस्थाले प्रतिनिधि तोकेका कागजातको आधिकारिकता पुष्टि खुल्ने लिंक सार्वजनिक गरी मन्त्रालयमा समेत पेस गर्ने,
४) सेवा प्रदान गरेका विद्यार्थीहरूसँग भएको सम्झौता सहित अन्य अभिलेख दुरुस्त राख्ने ।
५ ) आफ्नो संस्थाको परामर्शबाट वैदेशिक अध्ययन/तालिममा जाने विद्यार्थीहरूले प्राप्त गर्नु पर्ने ल्इऋ मा संस्थाको नाम अनिवार्य जनाउने व्यवस्था मिलाउने,
६ ) मन्त्रालयबाट अनुमति प्राप्त नगरी शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी लगायता कार्यहरू नगर्ने,
७) मन्त्रालयको अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरण सम्बन्धी प्रक्रिया पुरा नगरी विद्यार्थीलाई अध्ययनको लागि सिफारिस नगर्ने,
८) यस भन्दा अगाडी मन्त्रालयबाट जारी भएका सूचनाहरू कार्यान्वयन गर्ने ।


ख) विद्यार्थी तथा अभिभावकहरूका लागि :
१) वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र सेवाग्राहीहरूले परामर्श सम्बन्धी सेवा लिने । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत प्राप्त संस्था हो होइन स्वीकृति पत्र र नवीकरण भएको पत्र हेरी आवश्यक परेको अवस्थामा मन्त्रालयको वेबसाइटबाट एकिन भएर मात्र सेवा लिने,
२) परामर्श सेवा, भाषा शिक्षण तथा तयारी कक्षाको सेवा लिदा लाग्ने सेवा शुल्क र अन्य प्रबन्ध समेत खुलाई संस्थासँग सम्झौता गर्ने र एक प्रति आफूले पनि राख्ने,
३) आफूले अध्ययन गर्न चाहेको विश्वविद्यालय/शिक्षण संस्थाले उपलब्ध गराउने उपाधि, तह र अवधिको समकक्षता तथा त्यसको वैधानिकता बारेमा सुसूचित हुने,
४) संस्थासँग भएको दोहोरो सम्झौताको पालना गर्ने र सम्झौतामा उल्लेख भए भन्दा विपरीत कार्य भएमा एक प्रति सम्झौता सहित मन्त्रालयमा निवेदन गर्ने,


(ग) अन्य सरोकार पक्षहरूका लागि :
१) कुनै पनि संस्था कानुन सम्मत स्थापना नभएको र सम्बन्धित मन्त्रालयबाट सेवा प्रदानको अनुमति लिएको रहेनछ भने स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराई सहयोग गर्ने ।