काठमाडौं/१ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा छात्रवृत्तिका लागि आवेदन माग गरिएको छ । कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गर्न आवेदन माग गरिएको हो ।
वि.सं. २०७१/०१/०१ गतेदेखि २०७२/१२/३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८१ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र–छात्रामध्ये भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने जनाएको छ ।
योग्यता पुगेका विद्यार्थीहरुको चैत २६ गते मङ्गलबार, दिउँसो १ः०० देखि ४ः०० बजेसम्म तथा चैत २७ गते बुधबार बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म bnks.edu.np वा cehrd.gov.np वा moest.gov.np बाट डाउनलोड गरी भरेर दरखास्त फाराममा तोकिए बमोजिम सिफारिस तथा प्रमाणित गराई आवश्यक कागजात सहित आफ्नो जिल्लालाई तोकिएका परीक्षा केन्द्रमा बुझाउन सकिने छ । साथै लिखित परीक्षाको चैत २७ गते बुधबार बिहान ११ः०० बजे हुने छ ।



