काठमाडौ/१७ चैत्र – २ वर्ष देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मेन्टेश्वरी शिक्षा पद्धति भनिन्छ । मेन्टेश्वरी शिक्षाको स्थापना मारिया मेन्टेश्वरीले गरेकी हुन् । उनी एक चिकित्सक थिइन् । आफ्नो डाक्टरी पढाइ सकेपछि उनले मानसिक रूपमा कमजोर, अशक्त बालबालिकालाई हेर्ने काममा इन्टर्न गर्न थालिन । ती बालबालिकालाई उनले विभिन्न विधि र तरिका अबलम्बन गरेर पढाउन थालिन् । उनले इन्टर्न गर्दा पत्ता लगाएका पढाउने तरिका तथा शैक्षिक सामग्रीको प्रयोग गरेर पढाउन थालिन् । पढ्न नसक्ने सुस्त मनस्थितिका बालबालिकाले पनि यो पद्धतिबाट राम्रोसँग पढ्न सक्ने क्षमता विकास हँदै गयो र विश्व भर यसको प्रयोग हुन थाल्यो ।
हरेक बालबालिका फरक हुन्छन् र उनीहरूको क्षमता पनि फरक फरक हुन्छ । कोही बालबालिकामा छिटै कुराहरू सिक्ने क्षमता हुन्छ भने कोही बालबालिकामा यस्तो क्षमता हँदैन् । मेन्टेश्वरी पद्धतिले बालबालिकाको अधिकतम क्षमता विकास गर्ने गर्दछ । मेन्टेश्वरीमा शिक्षकले बालबालिकालाई मार्गनिर्देशन गर्ने काम गर्छन र त्यहाँ विद्यार्थीले के सिक्ने भन्ने आफैँ निर्धारण गर्दछन् । शिक्षकले विद्यार्थीको उमेर समुह अनुसार सोही किसिमको वातावरण निर्माण गरिदिएका हुन्छन् । जसले गर्दा विद्यार्थीहरूलाई त्यो वातावरणमा घुलमिल हुन सहज हुन्छ । मेन्टेश्वरीले विद्यार्थीलाई एक मार्गनिर्देशन गर्छ ताकि उनीलाई कुनै पनि किसिमको दबाब महसुस नहोस् । कसरी सिक्ने र कसरी उपयोग गर्ने भन्ने कुराको ज्ञान उनीहरू आपैले पत्ता लगाउने क्षमता मेन्टेश्वरी पद्धतिले विकास गराउँछ ।
अभिभावकहरूले स्कुल पठाउनुभन्दा पहिले आफ्नो छोराछोरीलाई मेन्टेश्वरी अनिवार्य पठाउने गरेका छन् ।
खास के गरेर सिकाइन्छ त मेन्टेश्वरीमा ?
१. पारिवारिक वातावरण
बालबालिकाहरू घरमै आमाबुवासँग बस्ने बानी हुन्छ र मेन्टेश्वरीमा पढाउन आँउदा उनीहरूलाई नौलो लाग्न सक्छ । घरमा आमाबुवा परिवारको सदस्यसँग मात्र बस्ने बानी भएका बालबालिकालाई मेन्टेश्वरीमा आफू जस्तै सानासाना बालबालिकासँग मिल्न र त्यो वातावरणमा घुलमिल हुन गाह्रो हुन्छ । त्यसैले मेन्टेश्वरीमा बच्चाहरूलाई पारिवारिक वातावरणमा अध्यापन गराउन सिक्नुपर्छ । मेन्टेश्वरीमा अध्यापन गराउने शिक्षकले बच्चाहरूलाई पारिवारिक वातावरण निर्माण गरि पढाउन सक्नु पर्छ ।
२. सकारात्मक व्यवहार
मेन्टेश्वरीमा अध्ययन गर्न गएका बालबालिकाप्रति मेन्टेश्वरीले सधंै सकारात्मक व्यवहार देखाउनुपर्दछ । बालबालिकाको उमेर निकै सानो हुन्छ र उनीहरू जे सिकायो त्यही सिक्ने हुन्छन् र जे देखायो त्यही व्यवहार सिक्ने हुन्छन् । त्यसैले उनीहरूको उपस्थितिमा कुनै पनि नराम्रो व्यवहार गर्नु हँुदैन । सधंै सकारात्मक व्यवहारको साथ पढाउनु पर्छ । बालबालिकाले राम्रो नराम्रो वा यो सही हो वा गलत हो भनि छुट्याउन सक्दैनन् । त्यसैले उनीहरूको अगाडि सधैं सकारात्मक रूपमा प्रस्तुत हुन जरुरी छ ।
३. स्व–निर्देशित हुन सिकाउने
पाठ्यक्रम भनेको स्वतन्त्र हुनु पर्छ । पहिले पहिलेको जस्तै घोकेर, सँुगा रटाइ पढाएर काम हुँदैन् । मेन्टेश्वरीले विद्यार्थीलाई स्व–निर्देशन कसरी हुने भन्ने कुरा सिकाउँनु पर्दछ । उनीहरूलाई कसरी सिक्ने र कुन तरिकाबाटमा सिक्ने आफँै छनौट गर्न दिनुपर्छ । उनीहरूले गल्ती गरे पनि बिस्तारै आफ्नो गल्तिबाट सिक्दै कसरी सम्हालिने र कसरी अगाडि बढ्ने भन्ने कुराहरू सिक्छन् ।
४. शिक्षकहरूले मेन्टेश्वरी शिक्षण तालिम लिएको हुनुपर्छ
विद्यालयमा र मेन्टेश्वरीमा अध्यापन गराउने शिक्षकहरूको अध्यापन गराउने तरिका फरक फरक हुन्छ । मेन्टेश्वरीमा अध्यापन गराउने शिक्षकले मेन्टेश्वरीको तालिम लिएको हुनुपर्दछ । मेन्टेश्वरीमा सा–साना बालबालिका आउने भएकाले गर्दा उनीहरूलाई कसरी खेलैखेलमा पढाउने र कस्तो व्यवहार गरेर पढाउने कुराको तालिम लिन पर्ने हुन्छ । तालिमले शिक्षकहरूलाई बालबालिकालाई कसरी रेख देख गर्ने सबै कुराहरू सिकाँउछ ।
५. सबै विद्यार्थीलाई समान व्यवहार गर्ने
मेन्टेश्वरीमा सबै बालबालिकालाई विशेष गरी शिक्षकले समान व्यवहार गर्नुपर्छ । सबै बालबालिकालाई समान व्यवहार नगरी कसैलाई धेरै माया गर्ने र कसैलाई थोरै माया वा हेला गरेमा उनीहरूमा नकारात्मक असर पुग्न सक्छ । उनीहरूमा आफू नराम्रो हो कि भन्ने भावना आँउन सक्छ ।