झापा/९ साउन – झापाको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, शिवसताक्षी–दुधेका प्रधानाध्यापक गिरिराज शेर्माको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।
मोरङको केराबारी–धरान सडकखण्ड अन्तर्गत पानमारा क्षेत्रमा शुक्रवार भएको दुर्घटनामा उनको ज्यान गएको हो ।
प्राप्त जानकारी अनुसार शुक्रवार बिहानसम्म शेर्मा विद्यालयमा सहकर्मीहरूसँग शैक्षिक योजना तथा विद्यालयका विविध विषयमा छलफलमा व्यस्त थिए । सोही क्रममा पाँचथरस्थित घरबाट उनका बिरामी बुवालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको खबर आयो । भाइले फोनमार्फत बुवाको अवस्था गम्भीर रहेको र तत्काल धरान आउन आग्रह गरेपछि उनी हतार–हतार मोटरसाइकलमा धरानतर्फ प्रस्थान गरेका थिए ।
महेन्द्र राजमार्गभन्दा केराबारी–पानमारा हुँदै धरान पुग्ने दूरी छोटो हुने भएकाले उनले सोही मार्ग रोजेको बताइएको छ । तर बुवालाई भेट्ने हतारो र मानसिक तनावकै बीच उनको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका शेर्माको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
उनको असामयिक निधनले राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय परिवार, विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्र तथा शिवसताक्षीसहित समग्र समुदाय शोकमा डुबेको छ ।



