विद्यार्थीले सिकेका ज्ञान र सिपको प्रस्तुति तथा प्रदर्शनीका लागि ‘शैक्षिक मेला’

काठमाडौँ /१५ फागुन -काठमाडौँ महानगरपालिकाले फागुन १६ र १७ गते ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।


विद्यालयहरुमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्ने भएको हो ।


प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा दुई दिनसम्म चल्ने उक्त मेलाले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको महानगरपालिकाले जनाएको छ ।


विद्यालय शिक्षालाई बैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको जनाइएको छ ।


निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीकाअनुसार मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिने बताए । मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरुले सहजीकरण गर्नुहुने र प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरु नै हुने उनको भनाई छ ।


प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्पmत रुचि र नतिजा प्रदर्शन गर्नेछन् । साथै सामुदायिक विद्यालयहरुले दिवा खाजाका रुपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइनेछ ।


विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्राम सम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेला अवलोकन गर्न पाइनेछ ।


कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्र्रिया आयोजना गरिनेछ ।


महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ । जसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सिप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । फोटो : मेट्रो न्युज