काठमाडौं/१५ फागुन – नेपाल शिक्षक महासङ्घको घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आज प्रदेश राजधानी घेर्ने भएका छन् । शिक्षकहरूसँग विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै प्रदेश राजधानी घेर्ने भएका हुन् ।
नेपाल शिक्षक महासङ्घले घोषणा गरेको पहिलो चरणको आन्दोलन फागुन २४ गतेसम्म हुने छ । त्यसपछि दोस्रो चरणको आन्दोलन सङ्घीय राजधानी केन्द्रीत असहयोगात्मक, विरोधात्मक सडक आन्दोलन गर्ने जनाएको छ ।
पटक पटक आन्दोलन भई सरकारसँग महत्वपूर्ण सहमतिहरू भए पनि ती सबै सहमतिलाई कार्यान्वयनका लागि एक पटक फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको महासङ्घको भनाई छ ।
विगतमा भएका सबै सहमतिहरू सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ नयाँ आन्दोलनको थालनी भइ सकेको छ अपिल गर्दै आन्दोलनमा सहभागी हुन सबै शिक्षक, विद्यालय कर्मचारीहरूलाई आग्रह गरेको छ ।
महासङ्घले पहिलो चरणको आन्दोलन माघ २० गतेदेखि सुरु गरेको थियो । स्थानीय तह, जिल्ला, प्रदेशमा क्रमशः ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउँदै आएको छ । आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।



