एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकको तलब बढाउन सकिदैन : प्रधानमन्त्री

काठमाडौँ /१३ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने बताएका छन् ।


जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताउँदै उक्त कुरा बताएका हुन् ।


यसैगरी शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको उल्लेख गर्दै एसईईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे ।


प्रधानमन्त्री ओलीले भने, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसईईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।’’


प्रधानमन्त्री ओलीले खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्ने, पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्ने तर तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुुपर्छ भन्ने नहेको उनको भनाई छ । साथै आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्नेमा जोड् दिए ।


सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुुपर्नेमा जोड दिए । मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनुनपर्ने बताउँदै मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताए ।


आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबिचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गरेका थिए ।