शिक्षा मन्त्रालयले भन्यो : सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्नु

काठमाडौं/१ फागुन – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा विद्यार्थीलाई अमानवीय यातना दिइएका घटनाप्रति र केही दिनमा सार्वजनिक भएका विद्यालय बस दुर्घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सत्यतथ्य पत्ता लगाई दोषी उपर हदैसम्मको कारबाहीका लागि सम्बन्धित सबै मन्त्रालय, ट्राफिक प्रहरी र स्थानीय प्रशासनसँग आग्रह गरेको छ ।


विज्ञप्तिमा भनिएको छ ‘हालै मात्र तनहुँ जिल्लाको भिमादस्थित श्री प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कार्यरत लेखापालले विद्यार्थीको गालामा तातो पन्युले डामेको तथा नवलपरासी पश्चिमस्थित एच पाठशालाका शिक्षकको यातनाका कारण एक विद्यार्थीको देब्रे आँखा फुटेको जस्ता दर्दनाक समाचार सार्वजनिक भएका छन् । त्यसैगरी, देशका विभिन्न स्थानका विद्यालयमा शिक्षकले नै विद्यार्थीको अङ्गभङ्गसमेत हुने गरी अत्यन्तै अमानवीय सजाय दिएका समाचार पनि आइरहेका छन् ।’


यसैगरी विद्यालय सिकाइको थलो भएकोले डर त्रासबाट सिकाइमा सहयोग पुग्दैन भन्ने मान्यता स्थापित सिकाइका सिद्धान्त र अनुसन्धानहरूबाट प्रमाणित तथ्य रहेकोले कानुनद्वारा वर्जित कार्य गर्नेलाई कारबाही गर्न अभिभावक वर्ग, स्थानीय तह र स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।


बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७ अन्तर्गत विद्यालयमा शारीरिक तथा मानसिक सजायविहीन एवम् भयरहित बालमैत्री शिक्षणको परिकल्पना गरिएको छ । त्यसैले विद्यालयभित्र विद्यार्थीका उपर घटेका फौजदारी कसुर मानिने हिंसात्मक कार्यहरू जस्ता पक्षको गहिरो निगरानी राख्ने तथा दोषीको पहिचान गरी बालबालिकासम्बन्धी ऐन, २०७५ जस्ता कानुन बमोजिम कारबाहीको पहल गर्नेतर्फ सम्पूर्ण अभिभावक वर्ग, स्थानीय तह र स्थानीय प्रशासन हमेसा सजग र सक्रिय रहन विज्ञप्ति मार्फत भनिएको छ ।


यसैगरी पछिल्ला दिनहरूमा विद्यालय बसहरू दुर्घटनामा परेको उल्लेख गर्दै विद्यालय बस सञ्चालनका लागि तोकिएका मापदण्ड पालना गर्ने गराउने, अनुगमन गर्ने र दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषी उपर हदैसम्मको कारबाहीका लागि सम्बन्धित सबै मन्त्रालय, ट्राफिक प्रहरी र स्थानीय प्रशासनसमक्ष अनुरोध गरेको छ ।


‘यस सन्दर्भमा नेपाल सरकारद्वारा जारी गरिएको स्कुल बस निर्देशिका, २०७४ बमोजिम विद्यार्थी ओसारपसार गर्ने सवारी साधन पहिचानको मापदण्ड तथा भौतिक मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । सोही निर्देशिकामा चालक तथा परिचालकका दायित्व, विद्यालयको दायित्व, अभिभावकको दायित्व र विद्यार्थीको दायित्व समेत उल्लेख गरिएका छन्’ विज्ञप्तिमा भनिएको छ ।