विद्यालय हिंसा रोक्नुहोस् भन्ने मूल नाराका साथ तालिम सम्पन्न

काठमाडौँ /२ फागुन – शान्ति शिक्षा सञ्जाल नेपालका प्रशिक्षार्थीलाई तालिम प्रदान गरी मास्टर ट्रेनर बनाउने उदेश्यले सञ्चालन गरिएको तालिमका कार्यक्रम सम्पन्न भएको छ । देशैभरी शिक्षामा शान्ति सञ्जाललाई विस्तार गरी शान्तिपूर्ण रहनुहोस् र विद्यालय हिंसा रोक्नुहोस् भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिम तथा कार्यक्रम सम्पन्न भएको हो ।


शान्ति शिक्षा सञ्जाल नेपाल र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनको सहकार्यमा तीन क्रेडिट बराबरको क्रेडिट सञ्चय ढाँचामा तालिमका कार्यक्रमहरू सञ्चालन गरिएका थिए । तालिम सकिएसँगै सहभागीहरूलाई स्कुल अफ एजुकेशनले एक कार्यक्रमकाबिच प्रमाणपत्र उपलब्ध गराएको छ । सह डिन प्रा. डा. हेमराज काफ्ले प्रमुख अतिथिका रूपमा रही प्रमाण पत्र वितरण गरेका थिए ।


कार्यक्रममा शान्ति शिक्षा सञ्जाल नेपालका तर्फबाट विश्वनेता शर्मा आचार्यले विश्वविद्यालयसँग सञ्चालन गरिएको मास्टर ट्रेनर कार्यक्रमले धेरै कुरा बुझन र आगामी दिनमा व्यवहारमा प्रयोग गर्न सिकाएको बताए । डा. बासु प्रसाद सुवेदीले सिकाइ निरन्तर चलिरहने साथै निरन्तरताले नै निखार्दै जाने कुरा औँल्याएका थिए ।


तालिममा सहभागी शिक्षकहरूले आफ्ना आमा बुवा गुमाएका आर्थिक रूपमा गरिब अपाङ्गता भएका र विद्यालयमा विभिन्न प्रकारका हिंसा र भेदभावको सामना गरिरहेका बालबालिकालाई शिक्षाको मूलधारमा समावेश गर्ने बेला आएको र प्रमाणपत्र हातमा हतियार आएको धारणा व्यक्त गरे ।


काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले शान्ति शिक्षा सञ्जाल नेपालका २० जना पाठ्यक्रममा निरन्तर सिकाइ गर्नेलाई प्रशिक्षकको तालिम प्रमाणित गरेको थियो । प्रा.डा. हेमराज काफ्लेले शिक्षण विधिमा नवीनतम प्रविधिहरूको उपयोग र गुणस्तरीय शिक्षाको आवश्यकताबारे प्रकाश पार्दै कार्यक्रमको सफलता प्रति खुसी व्यक्त गरे ।