काठमाडौँ /२८ माघ – प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले ग्रामीण क्षेत्रमा चल्ने स्कुल बस थोत्रा हुने कारणले दुर्घटना बढेको भन्दै अनुगमन र चेकजाँच हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै ग्रामीण क्षेत्रमा स्कुल बस थोत्रा ल्याउने र सानो दुरीमा चलाउने गरेको उल्लेख गर्दै अनुगमन चेकजाँचको व्यवस्था गर्नुपर्ने बताउका हुन् ।
उनले दक्षिणकाली नगरपालिका वडा नं ३ भन्ज्याङमा स्कुल बस दुर्घटना भएको र एकजना विद्यार्थी र एकजना चालकको मृत्यु भएको बताउँदै ३५ जना घाइते विद्यार्थीको निःशुल्क स्वास्थ्य उपचार गर्न आग्रह गरे ।
‘३५ जना घाइते विद्यार्थीहरू राजधानीको विभिन्न अस्पतालमा उपचाररत छन् । उनिहरूको अवस्था अत्यन्त क्रिटिकल छ । उहाँहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि सभामुख देवराज घिमिरे मार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु । ग्रामीण क्षेत्रमा स्कुल बस थोत्रा ल्याउने र सानो दुरीमा चलाउने भनेर कुनै अनुगमन चेकजाँच बिना बसहरू सञ्चालन भइरहेका छन् । दक्षिणकालीमा भएको स्कुल बस दुर्घटनामा चालकको कुनै गल्ती छैन । प्राविधिक हिसाबले स्कुल बस दुर्घटना भएको हो’ उनले भने ।



