काठमाडौं/१२ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेपाल खुला विश्वविद्यालयका कुलपति विद्या भट्टराईले शुक्रवार ललितपुर, मानभवन स्थित विश्वविद्यालयको स्थलगत अवलोकन गरेकी छन् ।
सो क्रममा मन्त्री भट्टराईले विश्वविद्यालयमा देखिएका समझदारीको अन्त्य गर्न नेतृत्वले विशेष पहल गर्नुपर्ने, सबै नेतृत्व बीच आपसी एकता हुनुपर्ने तथा एक अर्काको परिपूरकको रूपमा कार्य गर्नुपर्ने बताइन ।
अवलोकन पश्चात् विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै मन्त्री भट्टराईले आफ्नो भ्रमण तथा छलफलबाट विश्वविद्यालयका समस्याको पहिचान भएको र समस्या समाधानको लागि सामूहिक प्रयास आवश्यक रहेको विचार व्यक्त गरिन । उनले विश्वविद्यालय सञ्चालनका लागि आफ्नो तथा समग्र मन्त्रालयको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि सदैव तयार रहेको बताइन ।
खुला विश्वविद्यालय आफ्नो विशिष्ट ऐनद्वारा सञ्चालित एक स्वायत्त संस्था भएकोले ऐन कानूनका आधारमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्न सरोकारवाला पदाधिकारीलाई उनको आग्रह थियो । विश्वविद्यालय ज्ञानको उत्पादन तथा विकास गर्ने संस्था भएकाले आफ्नै योजना हुनुपर्ने तथा अनुसन्धान र खोजमा समेत लाग्नुपर्नेमा जोड् दिइन । साथै विश्वविद्यालयसँग सम्बन्धित विविध विषयमा सिनेटमा छलफल गरी निष्कर्षमा पुग्न सकिने र समस्या समाधानका लागि मन्त्रालयले पुलको रूपमा कार्य गर्न तयार रहेको बताइन ।
छलफलमा विश्वविद्यालयका उपकुलपति तथा अन्य पदाधिकारीहरूले विश्वविद्यालयबाट हाल सञ्चालित शैक्षिक कार्यक्रमहरू, जनशक्ति र भौतिक पूर्वाधारको अवस्था, बजेटसँग सम्बन्धित विषय लगायत उक्त विश्वविद्यालयका अन्तर्निहित विविध समस्याका बारेमा जानकारी गराएका थिए । उनीहरूले विश्वविद्यालयमा देखापरेका विविध समस्याको समाधानका लागि कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट सहयोग, समन्वय तथा सहजीकरणको अपेक्षा गरेको कुरा व्यक्त गरे ।



