सेवामूलक भावनासहित शिक्षण संस्था सञ्चालन गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं/१२ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित शिक्षण संस्थाहरूले सेवामूलक भावनासहित शिक्षण संस्था सञ्चालन गर्नुपर्ने र विद्यार्थीले गुणस्तरयुक्त शिक्षा पाउने विषयमा केन्द्रित हुनुपर्ने बताएकी छन् । साथै मन्त्रालय र उल्लिखित शिक्षण संस्थाहरू बीच आवश्यक सहकार्य हुनुपर्ने बताइन ।


शुक्रवार मन्त्रालयमा आयोजित विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ को संशोधन/परिमार्जन सम्बन्धी विषयमा विदेशी सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरूको संगठन आईप्यानका पदाधिकारीहरू सँग छलफल तथा अन्तरक्रियामा उनले सो कुरा बताएकी हुन् ।


कार्यक्रममा विदेशी सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरूसँग सम्बन्धित वर्तमान मुद्दा तथा समस्याहरूमा केन्द्रीत रहेर छलफल गरिएको थियो । आईप्यानका पदाधिकारीहरूले निर्देशिका परिमार्जनका विषयमा मन्त्रालयले समेट्नुपर्ने पक्षहरू सुझावका रूपमा प्रस्तुत गरेका थिए ।