अवकाश हुने शिक्षकको विवरण इकाइमा पठाइयो, ४३ शिक्षकले बुझाएनन् विवरण

काठमाडौं/८ पुस – राष्ट्रिय किताबखाना (शिक्षक) ले अनिवार्य अवकाश हुने शिक्षकहरू मध्ये पटक पटक पत्राचार गर्दा पनि कागजात पेस नगर्ने शिक्षकहरूको नामावली विवरण सार्वजनिक गरेको छ । २०८१ माघ १ गतेदेखि २०८२ असार मसान्तसम्म अनिवार्य अवकाश हुने केही शिक्षकहरूले कागजात पेस नगरेपछि नामावली विवरण सार्वजनिक गरेको हो ।


त्यसैगरी अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइमा पठाइएको राष्ट्रिय किताबखाना (शिक्षक) ले जनाएको छ । शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १२६ को उपनियम (२) को खण्ड (घ) बमोजिम जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूको किताबखानामा रहेको कम्प्युटर अभिलेख अनुसार २०८१ माघ १ गतेदेखि २०८२ असार मसान्तसम्ममा अनिवार्य अवकाश हुने देखिएका शिक्षकहरूको विवरण पठाएको छ ।


शिक्षकहरूले किताबखानामा पेश गरेको वैयक्तिक विवरण फायल (सिटरोल फायल) मा संलग्न कागजातका आधारमा तयार पारिएको नामावली पठाइएको जनाएको छ । जिल्ला अन्तर्गत कार्यरत शिक्षकहरूलाई अनिवार्य अवकाश गर्ने सम्बन्धमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १३१ को उपनियम (१) को व्यवस्था बमोजिम गर्नुहुन सबै इकालाई आग्रह समेत गरेको छ ।


कतिपय शिक्षकहरूको नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्ममिति फरक फरक हुन सक्ने भएकोले इकाइमा रहेको अभिलेख सँग भिडाई किताबखानाबाट पठाइएको अवकाशसम्बन्धी विवरणमा फरक पर्न गएमा सम्बन्धित शिक्षकबाट प्रमाणसहित पेस गर्न लगाई सोही बमोजिम सम्बन्धित शिक्षकलाई अनिवार्य अवकाशको जानकारी दिन आग्रह गरिएको छ ।


साथै कतिपय शिक्षकहरूको सिटरोल लगायत जन्ममिति खुलेका कुनै पनि कागजात किताबखानामा फेला नपरेका तथा निजहरूले शिक्षा नियमावली, २०५९ को नियम ११७ बमोजिमको अनुसूची– १८ फाराम अनिवार्य अवकाश हुनुभन्दा नौ महिना अगावै विद्यालय हुँदै शिक्षा विकास तथा समन्वय इकाइमार्फत किताबखानामा पेस गर्नु पर्नेमा सो समेत नगरेका साथै निजहरूका जन्ममिति खुलेका कागजातहरू इकाइ मार्फत पटक पटक पत्राचार गरी माग गर्दा समेत किताबखानामा उपलब्ध नगराएका कारण शिक्षकहरूको अनिवार्य अवकाशको मिति यकीन गर्न नसकिएको र निज शिक्षकहरूको सम्पूर्ण विवरण झिकाई नियमानुसार नियमित रूपमा अनिवार्य अवकाश दिने व्यवस्था मिलाउन समेत भनिएको छ ।

हेर्नुहोस नामावली