शैक्षिक परामर्श संस्थालाई निर्देशन : नेपालमा केही पनि गर्न सकिदैन भन्ने सन्देश प्रवाह नगर्नु

काठमाडौं/८ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले विकृति सृजना गर्न खोजेको देखिने साथै नेपालमा केही पनि गर्न सकिदैन भन्ने जस्त सन्देश प्रवाह नगर्न निर्देशन दिएको छ । केही शैक्षिक परामर्श संस्थाहरुले विभिन्न मिडिया लगायत सामाजिक सञ्जालहरुमा निर्देशिकाको प्रतिकुल हुने खालका लगायत स्थापित सामाजिक मूल्य मान्यताको प्रतिकुल हुने विज्ञापन गरेपछि सो निर्देशन दिएको हो ।


शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३(संशोधन सहित) को दफा (४) को अधिनमा रही दफा (५) बमोजिम शैक्षिक परामर्श सेवा वा पूर्वतयारी कक्षा वा भाषा शिक्षण कक्षा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरुले सोही निर्देशिकाको दफा ७(१) बमोजिमका शर्तहरु अनिवार्य रुपमा पालना गर्नु पर्ने प्रबन्ध रहेको समेत मन्त्रालयले उल्लेख गरेको छ ।


“निर्देशिकाको दफा (७) को उपदफा (३) ले संस्थाले आफ्नो सेवा सम्बन्धी प्रचार प्रसार गर्दा पालना गर्नु पर्ने शर्तहरुको स्पस्ट व्यवस्था गरेको छ । निर्देशिकाको शर्तहरु पालना संस्थाहरुको बाध्यकारी व्यवस्था भएको भएता पनि विभिन्न मिडिया लगायत सामाजिक सञ्जालहरुमा निर्देशिकाको प्रतिकुल हुने खालका लगायत स्थापित सामाजिक मूल्य मान्यताको प्रतिकुल तथा समाजमा विसंगती र विकृति सृजना गर्न खोजेको देखिने साथै नेपालमा केही पनि गर्न सकिदैन भन्ने जस्त सन्देश प्रवाह हुने गरी प्रचारप्रसार भएको पाइएको र विभिन्न माध्यमबाट गुनासाहरु समेत आएको अवस्था रहेकाले अनिवार्य रुपमा निर्देशित शर्तहरु पालना गर्न गराउन हुन सुचित गरिन्छ सूचनामा भनिएको छ ।”


साथै निर्देशिका पालना नगर्ने शैक्षिक परामर्श संस्थहरुको स्वीकृति ऐ निर्देशिकाको दफा (६) बमोजिम रद्ध गरी दफा (१५) बमोजिम अन्य प्रचलित कानुन अनुसार कारवाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ । यस सवालमा खबर एजुकेशनले निरन्तर समाचारहरु प्रकाशन गरेको थियो ।