काठमाडौँ /२ पुस – विद्यार्थीलाई पढाईसँगै खेल प्रतिको मोह जगाउने उदेश्यले इम्पेरियल वर्ल्ड स्कुलको आयोजनामा विद्यालयस्तरीय फुटबल टुर्नामेन्ट प्रतियोगिता आजदेखि सुरु भएको छ । पुस २ गतेदेखि ७ गतेसम्म चल्ने उक्त प्रतियोगितामा १६ विद्यालयको सहभागीता रहेको छ ।
इम्पेरियल वर्ल्ड स्कुलकै प्राङ्गणमा आयोजना गरिएको फुटबल टुर्नामेन्ट प्रतियोगितामा १६ वर्ष मुनीका विद्यार्थीहरूको सहभागीता रहेको स्कुलले जनाएको छ । साथै निजी सामुदायिक विद्यालयबिच साझेदारी गर्ने उदेश्यले बुढानीलकण्ठ नगरपालिकामा रहेको श्री मदन आश्रित आधारभूत विद्यालयलाई समेत प्रतियोगितामा सहभागी गराइएको विद्यालयका निर्देशक कुमार कार्कीले जानकारी दिए ।

उनले प्रतियोगिताले विद्यार्थीहरूलाई जीवनमा खेलको महत्व बारे जानकारी हुने, विद्यालय तहबाटै फुटबल खेलको विकास गर्नुका साथै खेलाडी उत्पादनमा सहयोग पुग्न सक्ने अपेक्षा रहेको बताए ।
यस प्रतियोगिताका विजेता र उपविजेता हुने टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने अन्य सहभागी सबै टिमलाई प्रमाणपत्र प्रदान गरिने छ ।





