प्राविधिक शिक्षाका कार्यक्रमलाई रोजगारीसँग जोड्न शिक्षामन्त्रीको निर्देशन

चितवन/२२ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षाका कार्यक्रमलाई रोजगारी र उच्च शिक्षामा सहज पहुँचका लागि उद्योगी, व्यवसायी, रोजगारदाता र विश्वविद्यालयहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएकी छन् ।


देश भित्रै रोजगारी सिर्जना हुने क्षेत्रहरू पहिचान गरी पाठ्यक्रम विकास र शिक्षण सिकाइलाई कार्यस्थलसँग जोड्न कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।


नेतृत्वमा रहेका सबै पदाधिकारीले पारदर्शिता, जवाफदेहीता र विश्वसनीयतालाई मध्यनजर गरी कार्यसम्पादन गर्न निर्देशन दिदै कुनै दबाब र प्रभावमा नपरी सेवा प्रवाह गर्नुपर्ने कुरामा जोड दिइन ।


चितवनको सौराहामा मंसिर २१ देखि सञ्चालन भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ४२औं व्यवस्थापन समीक्षा गोष्ठीमा उनले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा कार्यरत सबै पदाधिकारीले आफू र आफ्नो संस्थाबाट सम्पादन गरेका कामहरूको स्वःमूल्याङ्कन गरी भावी कार्यदिशा तय गर्नुपर्ने बताइन ।


आगामी दिनहरूमा प्राविधिक शिक्षाका कार्यक्रमहरू सञ्चालन र व्यवस्थापनका लागि तीनै तहका सरकारलाई जोड्ने संयन्त्र बनाएर अघि बढ्ने हेतुले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको विधेयक तयार भइरहेको मन्त्री भट्टराईले जानकारी दिइन ।


चितवनको सौराहामा मंसिर २१ देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ४२औं व्यवस्थापन समीक्षा गोष्ठी सञ्चालन भइरहेको छ । कार्यक्रममा परिषद्का उपाध्यक्ष प्रा. डा. ओम प्रकाश बरालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपक काफ्ले, परिषद्का सदस्य सचिव ई. महेश भट्टराई, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले गोष्ठीमा हुने छलफलबाट परिषद्ले आगामी दिनमा नयाँ उचाई कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गरेका थिए ।