पोखरा/२० मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा लागी परेको बताएकी छन् । शिक्षा क्षेत्रमा देखिएका केही विकृति र विसङ्गतिका कारण व्याप्त निराशा अन्त्य गर्दै थप प्रभावकारी शिक्षाका लागि निरन्तर प्रयत्नशील रहेको बताएकी हुन् ।
मन्त्री भट्टराईले नयाँ शिक्षा ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन मार्फत सबै खाले बेतिथीको अन्त्य हुने दाबी गरीन । शिक्षा क्षेत्रमा गर्नु पर्ने धेरै कामकाबिचमा नेपालको शिक्षा प्रति विश्वास जगाउनेतर्फ लागि पर्नुपर्ने भन्दै गुणस्तरीय शिक्षाको सुरुवात गुणस्तरीय शिक्षकबाट सुरु हुने कारण शिक्षकहरूको क्षमता वृद्धिका काममा विशेष ध्यान दिनु जरुरी भएको बताइन ।
मन्त्री भट्टराईले सो कुरा पोखरा महानगर पालिका वडा न १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोहलाई सम्बोधन गर्दै बताएकी हुन् । विद्यालय शिक्षा समग्र शिक्षाको जग र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको हुँदा समृद्ध, जीवनोपयोगी शिक्षाका निम्ति सबै क्षेत्र, वर्ग र समुदायको सहयोग र समन्वय जरुरी भएको उनाको भनाइ थियो ।
व्यावसायिक शिक्षा मार्फत नै गुणस्तरीय जीवनयापनको महत्त्वपूर्ण आधार खडा हुने सर्व स्वीकार्य विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने भन्दै वर्षौदेखि व्याप्त कमि कमजोरीहरूको पहिचान र निराकरणका लागि विशिष्ट प्रारम्भिक योजनाका साथ मन्त्रालय अगाडी बढेको जानकारी दिइन ।
राष्ट्रिय माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्तिहरू, शिक्षक, विद्यार्थीहरूलाई मन्त्री भट्टराईले सम्मान गरेकी थिइन ।