काठमाडौं/२१ मंसिर – निरन्तर विद्यार्थी मूल्याङ्कन भनेको विद्यार्थीको शैक्षिक उपलब्धिलाई नियमित रूपमा, विविध मूल्याङ्कन विधिहरू प्रयोग गरी, समय–समयमा अवलोकन तथा परीक्षण गर्ने प्रक्रिया हो । यसले शिक्षकलाई विद्यार्थीको कमजोरी र क्षमतालाई पहिचान गर्न, सिकाइ सुधार गर्न आवश्यक कदम चाल्न र व्यक्तिगत आवश्यकताअनुसार शिक्षण पद्धति परिमार्जन गर्न सहयोग गर्छ । यस प्रणालीमा विद्यार्थीको क्षमताको मूल्याङ्कन केवल परीक्षामा आधारित नभई सम्पूर्ण शिक्षण–अवधिभर गरिन्छ । यो मूल्याङ्कन सिकाइको प्रत्येक चरणमा हुने भएकाले शिक्षण–सीप सुधार गर्न प्रभावकारी मानिन्छ । यसले विद्यार्थीको शैक्षिक सुधारमा सहयोग पु¥याउन र व्यक्तिगत आवश्यकताअनुसार शिक्षण विधि अपनाउन मद्दत गर्दछ ।
निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणा :
(क) सिकाइ प्रक्रियामा निरन्तरता : शिक्षण र सिकाइ प्रक्रियालाई केवल वार्षिक वा अर्धवार्षिक परीक्षामा सीमित नगरी दैनिक, साप्ताहिक वा मासिक आधारमा विद्यार्थीको उपलब्धि जाँच गर्ने कार्य हो ।
(ख) सबै पक्षको मूल्याङ्कन : विद्यार्थीको शैक्षिक ज्ञानमा मात्र सिमित नभई उनीहरूको व्यवहार, सीप, रुचि र सामाजिक सहभागितालाई समेत मूल्याङ्कन गरिन्छ ।
(ग) पृष्ठपोषण र सुधारः निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले विद्यार्थीलाई नियमित पृष्ठपोषण दिई उनीहरूको कमजोरी र सुधारका क्षेत्र पहिचान गर्न सहयोग गर्छ ।
(घ) विविध मूल्याङ्कन उपकरणहरूको प्रयोगः मूल्याङ्कनका लागि गृहकार्य, परियोजना कार्य, प्रस्तुति, कक्षा सहभागिता, प्रत्यक्ष निरीक्षण, प्रश्नोत्तर, गतिविधि आदि विभिन्न उपकरणहरूको प्रयोग गरिन्छ ।
(ङ) बाल केन्द्रित शिक्षणः निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिले विद्यार्थीको व्यक्तिगत आवश्यकता, रुचि र क्षमता अनुसार सिकाइको स्तर निर्धारण गर्छ ।
निरन्तर विद्यार्थी मूल्याङ्कनको उद्देश्य :
निरन्तर विद्यार्थी मूल्याङ्कनको उद्देश्य विद्यार्थीको शैक्षिक उपलब्धि, सिप र व्यवहारको निरन्तर अनुगमन गरी शिक्षण–प्रक्रियालाई प्रभावकारी बनाउनु हो । यसका उद्देश्यहरू निम्नानुसार रहेका छन् :
(क) सिकाइको निरन्तर सुधार : विद्यार्थीको सबल र कमजोर पक्ष पहिचान गरी तिनीहरूको उपलब्धिमा सुधार ल्याउनु हो । यसले शिक्षण पद्धतिमा आवश्यक परिवर्तन गर्ने अवसर दिन्छ ।
(ख) व्यक्तिगत उपलब्धिको मूल्याङ्कन : प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमता र आवश्यकतालाई ध्यानमा राखेर उपलब्धि मूल्याङ्कन गर्नु हो । यसले फरक क्षमता भएका विद्यार्थीलाई आवश्यक सहयोग गर्न सकिन्छ ।
(ग) शिक्षक–विद्यार्थी संवाद सुधार : विद्यार्थी र शिक्षकबीच नियमित अन्तरक्रिया र पृष्ठपोषणको माध्यमबाट सिकाइ प्रक्रिया सुधार गर्ने ।
(घ) शिक्षण सामग्रीको प्रभावकारिता जाँच : पाठ्यक्रम र शिक्षण सामग्री कत्तिको प्रभावकारी छ भन्ने जाँच गर्ने । यसले आवश्यक परिमार्जन वा सुधार गर्ने आधार तय गर्दछ ।
(ङ) आत्म–मूल्याङ्कन गर्न प्रोत्साहन : विद्यार्थीलाई आफ्नो सिकाइको उपलब्धि बुझ्न र त्यस अनुसार सुधार गर्न प्रेरित गर्ने ।
विश्व इतिहासमा निरन्तर विद्यार्थी मूल्याङ्कनको अवस्था :
१. प्राचीन र मध्यकालीन शिक्षा :
(क) मौखिक मूल्याङ्कन : प्राचीन सभ्यतामा इजिप्ट, ग्रीस, चीन र भारतमा शिक्षा मौखिक रूपमा दिइन्थ्यो । विद्यार्थीको उपलब्धि शिक्षकले प्रश्नोत्तर, वादविवाद र छलफलको माध्यमबाट जाँच्ने गर्थे ।
(ख) सोक्रेटिक विधि (ग्रीस, ई.पू.) : सोक्रेटेसले प्रश्न सोधेर विद्यार्थीको समालोचनात्मक सोच र संवाद क्षमता जाँच्ने गर्दथे ।
(ग) कन्फ्युसियस शिक्षा (चीन) : विद्यार्थीहरू कन्फ्युसियसका ग्रन्थ कण्ठ गरेर व्याख्या गर्नसक्ने क्षमताको आधारमा मूल्याङ्कन गरिन्थ्यो ।
२. प्राचीन चीनमा औपचारिक परीक्षा : ईस्वी सम्वत् करिब ६०५ तिर चीनमा सुरु भएको इम्पेरियल परीक्षा प्रणाली संसारकै ठूला औपचारिक परीक्षाहरू मध्ये नै गणना गरिन्छ । यो निरन्तर मूल्याङ्कन नभए पनि योग्यता आधारित मूल्याङ्कन प्रणाली थियो । जसले पछि संसारभरका प्रणालीहरूलाई प्रेरित गर्न पुग्यो ।
३. मध्यकालीन यूरोप :
(क) मठ शिक्षा : धार्मिक ग्रन्थहरू कण्ठ गर्ने र वाचन गर्ने क्षमताको आधारमा मूल्याङ्कन गरिन्थ्यो ।
(ख) गिल्ड शिक्षुता (Guild Apprenticeships) : विद्यार्थीलाई निरन्तर ज्ञान, सीप प्रदर्शनको माध्यमबाट मूल्याङ्कन गरिन्थ्यो । जुन आजको निर्माणात्मक मूल्याङ्कनको प्रारम्भिक रूप मान्न सकिन्छ ।
४. १७ औँ– १८ औँ शताब्दी : औपचारिक विद्यालय र परीक्षा प्रणालीको उदयको सुरुवात भएको मानिन्छ । औपचारिक विद्यालय स्थापना भएसँगै लिखित परीक्षाहरू सुरु हुन थालेका थिए ।
५. जन लक : उनले विद्यार्थीको अवलोकन र व्यक्तिगत पृष्ठपोषणलाई प्राथमिकता दिने गर्दथे । जसले निरन्तर मूल्याङ्कनको आधारशिला तयार गर्न थालेको पाइन्छ ।
५. १९ औँ शताब्दीः संस्थागत शिक्षा र मूल्याङ्कन प्रणालीको सुरुवात् भएको पाइन्छ ।
(क) औद्योगिक क्रान्तिः शिक्षित र दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएपछि ठूला परीक्षाहरू लोकप्रिय हुन थालेका थिए ।
(ख) जोहन पेस्टालोज्जी र फ्रेडरिक फ्रोबेलः यी शिक्षकहरूले बालबालिकाको समग्र विकासको पक्षमा निरन्तर अवलोकन र पृष्ठपोषणको महत्वमा जोड दिन थाले ।
६. प्रारम्भिक २० औँ शताब्दी : उपलब्धिशील शिक्षा आन्दोलनको रुपमा आगाडि बढ्न थालेको पाइन्छ ।
(क) जोन डिवे : अनुभवजन्य शिक्षालाई महत्व दिने डिवेले निरन्तर अवलोकन र आत्ममूल्याङ्कनलाई प्राथमिकता दिन थाले ।
(ख) मारिया मोन्टेश्वरी : बालकेन्द्रित शिक्षामा विश्वास गर्ने मोन्टेश्वरीले निरन्तर मूल्याङ्कन र व्यक्तिगत उपलब्धिमा आधारित विधि अपनाइन् ।
७. मध्य २० औँ शताब्दी : निर्माणात्मक मूल्याङ्कनको उदय भएको पाइन्छ ।
(क) बेन्जामिन ब्लूम : उनले निरन्तर पृष्ठपोषणद्वारा सिकाइ परिणाम सुधार गर्न निर्माणात्मक मूल्याङ्कनको महत्वलाई जोड दिएको पाइन्छ ।
(ख) मास्टर लर्निङ (१९६८) : सिकाइलाई स–साना भागमा बाँडेर हरेक चरणको मूल्याङ्कन गर्नुपर्ने प्रणालीको विकसित हुन थाल्यो ।
८. २० औँ शताब्दीको अन्त्यतिरः निरन्तर मूल्याङ्कनको अवधारणा शसक्त रुपमा अगाडी आउन थाल्यो ।
(क) निर्णयात्मक र निर्माणात्मक मूल्याङ्कनको भिन्नताः १९८० र १९९० मा निर्माणात्मक मूल्याङ्कनलाई सुधारको साधनका रूपमा व्यापक रूपमा प्रयोग गर्न थालियो ।
(ख) मानक आधारित शिक्षाः शैक्षिक मानकहरू पूरा गर्न उपलब्धिलाई ट्र¥याक गर्न निरन्तर मूल्याङ्कन आवश्यक हुन थाल्यो ।
९. २१ औँ शताब्दीः डिजिटल र तथ्याङ्कमा आधारित मूल्याङ्कनले प्रवेश पायो । प्रविधिको विकासले निरन्तर मूल्याङ्कनमा ठूलो परिवर्तन आयो ।
(क) लर्निङ म्यानेजमेन्ट सिस्टम LMS ) : (Moodle /Google Classroom) जस्ता प्लेटफर्मले वास्तविक समयमा पृष्ठपोषण दिन र तथ्याङ्क विश्लेषण गर्न सक्षम हुने गरी विकास गरिए ।
१०. वर्तमान प्रवृत्ति र भविष्यको दिशा : शैक्षिक क्षमताका साथै सामाजिक–भावनात्मक विकासको मूल्याङ्कनको महत्व बढन थालेको पाइन्छ ।
नेपालको सन्दर्भमा निरन्तर मूल्याङ्कन प्रणालीको अवस्था
हरेक शिक्षण सिकाइ व्रिmयाकलापसँगै र आवश्यकताअनुसार बारम्बार गरिने मूल्याङ्कन निरन्तर विद्यार्थी मूल्याङ्कन हो ।
नवौं पञ्चवर्षीय योजनाको प्राथमिक शिक्षा सम्बन्धी कार्यक्रममा विद्यार्थीहरुको निरन्तर मूल्याङ्कन गर्ने प्रणालीलाई क्रमशः लागू गर्दै लगिनेछ । कक्षा १ देखि ३ सम्म कक्षा चढाउने उदार नीति (liberal promotion) प्रयोगात्मक रुपमा केही स्थानमा कार्यान्वयन गरिनेछ भन्ने रहेको । यसै मूल्याङ्कन प्रणालीका माध्यमले उदार कक्षोन्नतिको नीति लागू भएको ।
नवौं योजनाको कक्षा १ देखि ३ सम्म कक्षा चढाउने उदार नीति सम्बन्धी कार्यक्रमलाई शिक्षा तथा खेलकूद मन्त्रालयले आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रमको गुरुयोजना (सन् १९९७) मा निरन्तर मूल्याङ्कन प्रणालीलाई केही जिल्लामा परीक्षणका रुपमा लागू गर्ने कार्यक्रम राख्यो भने आधारभूत तथा प्राथमिक शिक्षा परियोजना दोस्रो चरणको कार्यक्रम कार्यन्वयन योजना सन् १९९९) ले पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयन गर्ने गरी निरन्तर मूल्याङ्कन कार्यक्रम समावेश गरियो ।
आधारभूत तथा प्राथमिक शिक्षा परियोजना दोस्रो चरणको कार्यक्रम कार्यान्वयन योजना सन् १९९९–२००४) ले इलाम, चित्तवन, स्याङ्जा सुर्खेत र कञ्चनपुर जिल्लामा कक्षा १–३ सम्म क्रमश: लागू भयो र सन् २०००–२००१ देखि कक्षा १ मा कार्यान्वयन प्रक्रिया थालनी भयो । नेपालमा औपचारिक रुपमा वि.सं. २०६३ को शैक्षिक सत्रबाट निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यान्वयन गरियो ।
विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ का अनुसार :
आधारभूत शिक्षाको कक्षा १–३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन पद्धति अवलम्बन गरिने छ । कक्षा ४–५ मा ५० प्रतिशत भारको निरन्तर मूल्याङ्कन पद्धति र ५० प्रतिशत भारको आवधिक निर्णयात्मक मूल्याङ्कनका माध्यमले विद्यार्थीको उपलब्धिको लेखाजोखा गर्नुपर्ने छ । कक्षा ६, ७ र ८ मा ५० प्रतिशत आन्तरिक मूल्याङ्कन तथा ५० प्रतिशत वाह्य परीक्षाबाट विद्यार्थीको मूल्याङ्कन गरिने छ ।
निरन्तर मूल्याङकन पद्धतिमा विद्यार्थीको नियमितता/हाजिरी, कक्षाकार्य/सहभागिता, परियोजना तथा प्रयोगात्मक कार्य, सिर्जनात्मक कार्य, सिकाइ व्यवहारमा आएको परिवर्तन, र उपलब्धि परीक्षा जस्ता पक्षहरूलाई समावेश गरिने छ । यससम्बन्धी थप व्यवस्था विषयगत पाठ्यक्रमको मूल्याङ्कन खण्डमा समावेश गरिने छ । विद्यार्थी मनोविज्ञानलाई दृष्टिगत गरी विद्यार्थी मूल्याङ्कन प्रणालीमा समसामयिक सुधारसमेत गर्दै लगिने छ ।
निरन्तर मूल्याङ्कन पद्धतिअन्तर्गतको उपलब्धि परीक्षा सञ्चालन गर्दा हरेक एकाइ/पाठको पठनपाठनपश्चात् पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिलाई समेट्ने प्रश्नपत्र निर्माणमा ध्यान दिनुपर्ने छ । त्यसैगरी विद्यार्थी मूल्याङ्कन गर्दा शिक्षकले अपाङ्गता भएका र विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीहरूका लागि उपयुक्त हुने मूल्याङ्कन प्रक्रिया अपनाउनुपर्ने छ ।
निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रभावकारिता
आधारभूत तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रभावकारी मानिनुको कारण यसले शिक्षण र सिकाइ प्रक्रियालाई नियमित, समग्रता र विद्यार्थी–केन्द्रीत बनाउन सहयोग गर्छ । आधारभूत तहमा निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रभावकारिता मानिनुका कारणहरु निम्नानुसार रहेका छन् :
१. निरन्तर पृष्ठपोषण : निरन्तर मूल्याङ्कनले शिक्षकलाई विद्यार्थीको उपलब्धिलाई समयमै अनुगमन गर्न र तुरुन्तै प्रतिक्रिया दिन सक्षम बनाउँछ । यसले विद्यार्थीलाई आफ्नो कमजोरी र क्षमता बुझ्न सहयोग गर्छ । विद्यार्थीहरूको सिकाइ सुधार गर्न प्रेरित गर्छ ।
२. समग्रतामा मूल्याङ्कन : निरन्तर मूल्याङ्कनले केवल परीक्षा वा लिखित उत्तरमा मात्र भर नपरी विद्यार्थीको व्यवहार, सीप र अन्य विविध गतिविधिहरूलाई समेट्छ । विद्यार्थीको बौद्धिक, सामाजिक र भावनात्मक पक्षलाई समग्र रूपमा विश्लेषण गर्न सकिन्छ ।
३. व्यक्तिगत ध्यान : प्रत्येक विद्यार्थीको उपलब्धिमा ध्यान केन्द्रीत गर्दा शिक्षकलाई व्यक्तिगत आवश्यकताहरूको पहिचान गर्न सजिलो हुन्छ । यसले व्यक्तिगत सिकाइ योजना बनाउन सहयोग गर्छ ।
४. सिकाइको निरन्तरता सुनिश्चितता : समय–समयमा हुने मूल्याङ्कनले विद्यार्थीको सिकाइलाई नियमित बनाउँछ । यसले पाठ्यक्रमले लिएका लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न सजिलो हुन्छ । सिकाइमा हुने खाडल रोक्न महत्वपूर्ण भूमिका खेल्छ ।
५. विद्यार्थी–केन्द्रीत शिक्षण विधि : निरन्तर मूल्याङ्कनले विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्छ । जसले तिनीहरूको सिर्जनशीलता र सोचको विकासलाई प्रोत्साहन गर्छ । यसले शिक्षकलाई सिकाइ विधिहरू अनुकूलन गर्न प्रेरित गर्छ ।
६. दबाब र तनाव न्यूनीकरण : अन्तिम परीक्षामा आधारित मूल्याङ्कनको तुलनामा निरन्तर मूल्याङ्कनले विद्यार्थीमाथि पर्ने मानसिक दबाब र तनावलाई कम गर्छ । यसले सिकाइलाई रमाइलो र रुचिकर बनाउँछ ।
७. सकारात्मक वातावरण निर्माण : शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय बढ्छ । जसले सकारात्मक र समावेशी शिक्षण वातावरण सिर्जना गर्छ ।
निरन्तर मूल्याङ्कन गर्ने साधनहरु
१. प्रत्यक्ष अवलोकन : शिक्षकले विद्यार्थीहरूको कक्षा गतिविधि, व्यवहार र सहभागितालाई नजिकबाट अवलोकन गरी मूल्याङ्कन गर्छन् । उदाहरणः समूहगत कार्य, प्रस्तुति वा कक्षाकोठामा छलफलको क्रममा विद्यार्थीको सहभागिता मूल्याङ्कन गर्न सकिन्छ ।
२. प्रश्नोत्तर : विद्यार्थीहरूलाई पाठ्यक्रमसँग सम्बन्धित प्रश्न सोधेर उनीहरूको ज्ञानको स्तर बुझ्न सकिन्छ । उदाहरणः खुला प्रश्न, छोटो उत्तर वा बहुविकल्पीय प्रश्न सोधेर मूल्याङ्कन गर्न सकिन्छ ।
३. कार्यपत्र र गृहकार्य : विद्यार्थीहरूलाई विषयसँग सम्बन्धित कार्यपत्र वा गृहकार्य दिएर उनीहरूको विषयवस्तुमा बुझाइ र अभ्यासको मूल्याङ्कन गर्न सकिन्छ ।
४. पोर्टफोलियो मूल्याङ्कन : विद्यार्थीहरूको सिर्जनशील कार्यहरूको संग्रह (जस्तैः चित्र, लेख, परियोजना) तयार गरी उनीहरूको उपलब्धि र सिपहरूको अध्ययन गरी गर्न सकिन्छ ।
५. साना परीक्षण (क्विज) : छोटो अवधिका साना परीक्षणहरू लिएर विद्यार्थीहरूको तत्कालीन ज्ञानको स्तर जाँच्न सकिन्छ ।
६. सहभागिता र व्यवहार मूल्याङ्कन : कक्षाकोठामा विद्यार्थीहरूको नियमितता, समयपालन र अनुशासनको आधारमा मूल्याङ्कन गर्न सकिन्छ ।
७. रचनात्मक कार्य : विद्यार्थीहरूलाई समस्या समाधान गर्ने, सिर्जनशील लेखन गर्ने वा चित्रकलाजस्ता गतिविधिमा संलग्न गराएर उनीहरूको सिर्जनशीलता मूल्याङ्कन गर्न सकिन्छ ।
८. समूहगत कार्य मूल्याङ्कन : समूहमा कार्य गर्दै विद्यार्थीहरूले देखाउने सहकार्य, नेतृत्व क्षमता र अन्य सामाजिक सिपहरूको मूल्याङ्कन गर्न सकिन्छ ।
९. खेलकुद र अतिरिक्त क्रियाकलाप : विद्यार्थीको शारीरिक र मानसिक विकासलाई मूल्याङ्कन गर्न खेलकुद, नाटक वा अन्य गतिविधिमा उनीहरूको सहभागिता अवलोकन गरी मूल्याङ्कन गर्न सकिन्छ ।
१०. स्व–मूल्याङ्कन र सहकर्मी मूल्याङ्कन : विद्यार्थीहरूले आफ्नै कार्य र सहकर्मीहरूको कार्यको समीक्षा गरेर सिकाइको स्तर सुधार गर्न सक्ने वातावरण सिर्जना गरेर मूल्याङ्कन गर्न सकिन्छ ।
निरन्तर मूल्याङ्कन गर्ने तरिका
१. अवलोकन : कक्षा कोठामा विद्यार्थीको व्यवहार, सहभागिता र प्रस्तुति हेरेर मूल्याङ्कन गर्ने ।
२. कक्षा कार्य : विद्यार्थीले कक्षामा गरेका अभ्यासहरू, रचना, गणितीय समस्याहरूको समाधान आदिको मूल्याङ्कन गर्ने ।
३. प्रश्नोत्तर : कक्षा भित्रै छलफलका क्रममा विभिन्न किसिमका प्रश्नहरू सोधेर विद्यार्थीको बुझाइको स्तर मूल्याङ्कन गर्ने ।
४. समूहगत कार्य र परियोजना : विद्यार्थीलाई समूहमा काम गर्न लगाई परियोजनामार्फत उनीहरूको सहकार्य, समस्या समाधान क्षमता र सिर्जनात्मकतालाई मूल्याङ्कन गर्ने ।
५. आत्ममूल्याङ्कन र सहकर्मी मूल्याङ्कन : विद्यार्थीले आफैँले आफ्नो कामको र सहकर्मीको मूल्याङ्कन गर्ने ।
६. लघु परीक्षा र क्विज : साना परीक्षा, प्रश्नोत्तर खेल र छिटो जवाफ दिने गतिविधि मार्फत विद्यार्थीको ज्ञान परीक्षण गर्ने ।
७. सिर्जनात्मक प्रस्तुति : विद्यार्थीलाई कविता वाचन, नाटक, चित्रकला र अन्य सिर्जनात्मक गतिविधिहरूमा सहभागी गराएर मूल्याङ्कन गर्ने ।
८. मौखिक र लिखित परीक्षा : प्रश्नोत्तर वा लेखन कार्यबाट विद्यार्थीको भाषा तथा अन्य विषयको मूल्याङ्कन गर्ने ।
९. घरेलु कार्य :पाठ्यक्रमअनुसार नियमित गृहकार्य दिएर विद्यार्थीको स्व–अध्ययन क्षमता मूल्याङ्कन गर्ने ।
निष्कर्ष
निरन्तर विद्यार्थी मूल्याङ्कन शिक्षण–सिकाइ प्रक्रियाको एउटा महत्वपूर्ण पद्धति हो । विद्यार्थीको उपलब्धि, सीप र ज्ञानको स्थायी विश्लेषण गर्न सहयोग गर्छ । यसले शिक्षकलाई नियमित रूपमा विद्यार्थीको आवश्यकता र कमजोरी पहिचान गरी शिक्षण शैली परिमार्जन गर्न प्रेरित गर्छ । निरन्तर मूल्याङ्कनले विद्यार्थीमा परीक्षाको दबाब कम गर्न सहयोग गर्छ । विद्यार्थीको सिर्जनात्मकता, विश्लेषणात्मक क्षमता र आत्मविश्वास बढाउन सहयोग गर्छ । यसले शिक्षणलाई परिणाममुखी र प्रक्रियामुखी बनाउँछ । विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विकासमा यसको भूमिका रहन्छ । यसमा अन्तर्गत परियोजना कार्य, प्रस्तुति, समूह कार्य र क्विजहरूको प्रयोग गरिन्छ । यो विधि लचिलो र विद्यार्थीमैत्री हुन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन शिक्षाको गुणस्तर सुधारका लागि अत्यन्तै प्रभावकारी उपाय हो । (लेखक खिलानाथ धमला, पाठ्यक्रम विकास केन्द्रका अधिकृत हुन ।)