शिक्षामा ज्ञानसँगै सीप नहुँदा विद्यार्थी विदेशिए : पूर्व शिक्षामन्त्री खनाल

तुल्सीपुर/१६ मंसिर – विश्वविद्यालयको शिक्षामा ज्ञानसँगै सीप नहुँदा विद्यार्थीहरू विदेश जाने क्रम बढेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले बताएका छन् । उनले ज्ञान, सीप र उद्यमशीलतालाई सँगै जोडेर लैजानु आवश्यकता भएको बताए ।


तुल्सीपुर मेट्रो कलेजले लुम्बिनीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री खनालले प्राविधिक शिक्षाको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताए । “हाम्रा विश्वविद्यालयहरूले पाठ्यक्रम परिमार्जन गरेर विद्यार्थीहरूलाई उद्यमशील बनाउनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ“ पूर्व मन्त्री खनालले भने ।


कलेजमा भर्ना भएका बिएएलएलबी, बिबिए र बिएचटिएमका विद्यार्थीहरूका लागि आयोजना गरिएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयले प्राविधिक शिक्षालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले विद्यार्थीहरूलाई पढ्दापढ्दै विभिन्न खालको अवसर सृजना गर्ने गरी विश्वविद्यालयले कार्यक्रम सञ्चालन गरेको पनि बताए ।


तुल्सीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाण्डेले विद्यार्थीहरूले ज्ञान र सीप दुवै कुरालाई केन्द्रमा राख्नुपर्ने बताउँदै कागजी उपलब्धिका साथै सीप पनि भएमात्रै सिकाइ पूर्ण हुनेमा जोड् दिए ।