हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक पेस हुन्छ : सभापति थापा

काठमाडौँ /१९ असोज – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले यही हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने बताएका छन् । कार्तिक २६ गतेदेखि विधेयक माथि दफावार छलफल गर्ने तयारी रहेको बताउँदै हिउँदे अधिवेशनमा विधेयक पेस हुने बताएका हुन् ।


गत भदौमा संसदमा दर्ता भएको विधेयक माथि संशोधन हाल्ने संसदहरूसँगको छलफल सकिएको र अब कार्तिक २६ गतेदेखि निरन्तर नसकिएसम्म दफावार छलफल गर्ने तयारी गरेको उनले बताए ।


विश्व शिक्षक दिवसको अवसरमा नेपाल शिक्षक महासङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको विद्यालय शिक्षा विधेयकमा मास्टरको तलब बढाउने र सेवा सुविधाका बारेमा बाहेक नेपालको शिक्षा परिवर्तन गर्ने कुनै कुरा नभएको र यही विधेयक संसदमा पेस गरे त्यसले नेपालको शिक्षामा परिवर्तन नहुने बताए । उनले अबको शिक्षा कस्तो हुने भन्ने बारे मोडेल तयार गर्नुपर्ने र केही प्रावधानहरूलाई परिवर्तन गरेर मात्रै पेस गर्ने नत्र आफूले विधेयक अहिलेकै अवस्थामा पेस नगर्ने समेत उल्लेख गरे ।


त्यसैगरी १९ थरीका शिक्षकलाई घटाएर दुई थरिका मात्रै शिक्षक बनाउनुपर्ने, ५ वर्ष भन्दा बढी एउटै विद्यालयमा शिक्षकलाई राख्न नहुने, कर्मचारीहरूको भन्दा राम्रो सुविधा दिनुपर्ने, शिक्षक विद्यार्थीसँग घुलमिल हुन सक्छ की सक्दैन भनेर स्थायी शिक्षकलाई पनि प्रयोगात्मक परीक्षा लिनुपर्ने, शिक्षकलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।