विद्यालयको रकम हिनामिना गर्ने प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सप्तरी/१५ असोज – विद्यालयको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग आयोगले शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका तत्कालीन प्रधानाध्यापक दिलीप कुमार गुप्ता सहित ३ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।


प्रधानाध्यापक गुप्ता सहित ३ जनाको मिलेमतोमा आर्थिक वर्ष २०७१ ०७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको पहिलो किस्ता, उक्त विद्यालयका विद्यार्थीहरूको नाममा विभिन्न शीर्षकमा आएको विभिन्न आर्थिक वर्षहरूको छात्रवृत्ति रकम विद्यार्थीहरूलाई नबाँडेको, आ.व. २०७३÷०७४ मा निकासा भएको पी.सी.एफ. अनुदानबापतको रकमसमेत शिक्षक नराखी हिनामिना गरेको, पाठ्यपुस्तक खरिदमा समेत अनियमितता गरी विगत ५ वर्षदेखि विद्यालयको आय र व्यय सार्वजनिक नगरी विद्यालय कोषको रकम हिनामिना गरेको आरोप छ ।


उजुरीका आधारमा अनुसन्धान हुँदा शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका तत्कालीन प्रधानाध्यापक दिलीप कुमार गुप्ताले विद्यालयको प्र.अ. रहँदा विद्यालयको शौचालय निर्माणमा रु.६२,५८३।३६, छात्रवृत्तिको रकममा रु.३,१०,४००।– पाठ्यपुस्तकको रकम रु.१,२६,२४७।२६ र पी.सी.एफ. शिक्षक तलबभत्ता रु.१,५०,६८६।– निकासा लिई मनोमानी ढंगले खर्च गरी रु ६,४९,९१६.६२ हानिनोक्सानी पु¥याएको पाइएको आयोगले जनाएको छ । गुप्तालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा विगो छ लाख उनान्चास हजार नौ सय सोह्र रुपैयाँ पैसा बैसठ्ठी कायम गरी मुद्दा दायर गरिएको छ ।


त्यसैगरी विद्यालयका कर्मचारी श्रवण कुमार चौधरी र शिक्षक ह्रदयराम चौधरीले शौचालय निर्माणको लागि निकासा भएको रकम प्र.अ.सँग मिली हिनामिना गरेको आरोप छ । श्रवण कुमार चौधरीलाई पाँच लाख सतासी हजार तीन सय तेत्तिस पैसा छव्वीस कसुर बिगो र ह्रदयराम चौधरीलाई बैसठ्ठी हजार पाँच सय रुपैयाँ त्रियासी पैसा छत्तिस कायम गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको छ ।