विद्यार्थीको मूल्याङ्कनको जिम्मेवारी शिक्षकलाई नै दिनुपर्छ

काठमाडौँ /१४ असोज – शिक्षाविद् प्रा.डा.लक्ष्मण ज्ञवालीले कक्षा १ देखि ९ सम्मको विद्यार्थी मूल्याङ्कनको जिम्मेवारी शिक्षकलाई नै दिनुपर्ने धारणा व्यक्त गरेका छन् । राष्ट्रिय स्तरका परीक्षा जसरी चलाइएको छ, त्यसरी नै चलाए हुने बताउँदै अन्य कक्षाका सवालमा विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मेवारी शिक्षकलाई दिनुपर्ने बताएका हुन् ।


उनले त्यसका लागि शिक्षकहरूलाई पेसागत विकास तथा विभिन्न तालिम दिएर मूल्याङ्कनको मानक बनाउन सिकाउनुपर्ने, शैक्षिक सामग्री दिएर विद्यार्थीको मूल्याङ्कन गर्न सिकाउनुपर्ने बताए । अहिलेसम्म सबै कुरा केन्द्रमा बन्ने गरेको र कहिलेकाहीँ दिएका तालिममा शिक्षकले जे बुझ्यो त्यही गरेको अवस्था रहेको बताउँदै पर्याप्त मात्रामा तालिम दिएर शिक्षकलाई जिम्मेवारी बनाउन आवश्यक रहेको उनको भनाई छ ।


शिक्षकले रुब्रिक्सको प्रयोग गर्न सके विद्यार्थीको मूल्याङ्कन सही गर्न सक्ने उल्लेख गर्दै उनले भने ‘शिक्षकले पाठयोजना बनाउँदै गर्दा शिक्षण सिकाई यसरी जान्छ, मूल्याङ्कन यहाँ नेर हुन्छ र त्यो मूल्याङ्कन विद्यार्थीलाई सुरुमै जानकारी गराएको हुनुपर्छ । मूल्याङ्कनको संरचना पाठयोजनामा नै जानुपर्छ । पाठयोजनालाई छुट्याउनु भन्दा एउटै बनाउन आवश्यक छ ।’


पाठयोजना देखि मूल्याङ्कनको अन्तिमसम्म शिक्षकले एउटै ढिक्का बनाउन सके मात्रै विद्यार्थीको मूल्याङ्कनमा न्याय हुने उनको भनाई छ । साथै निदानात्मक रेकर्ड अनुसार विद्यार्थीको क्षमता मापन गरेर शिक्षकले नै विद्यार्थीको क्षमता अनुसार टुलहरू तयार पार्नुपर्ने बताए ।


अब परिमार्जन हुँदै गरेको पाठ्यक्रममा शिक्षकलाई जिम्मेवार बनाउनुपर्ने, सुधारका लागि सिस्टम बनाउनुपर्ने र पेसागत विकासका लागि स्थान दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।