अविरल वर्षाका कारण देशभर ५६ विद्यालयमा क्षति, ६ जना विद्यार्थीको मृत्यु (विवरणसहित)

काठमाडौं/१४ असोज – असोज ११ गतेदेखि आएको अविरल वर्षाका कारण देशभर ४२ वटा विद्यालयमा क्षति पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । आइतवार बेलुका ५ बजेसम्मको सो विवरण प्राप्त भएको मन्त्रालयले जनाएको हो ।


त्यसैगरी १० हजार ९ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिएका छन् । अधिकांश विद्यालयको पर्खाल मात्रै भत्किएको छ भने तेह्रथुमको इन्द्रसरोवर गाउँपालिकामा रहेको वात्सल्यदेवि माध्यमिक विद्यालयका कक्षा ८-१० का ६ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको छ ।


साथै सिन्धुलीको सुनकोसी गाउँपालिकामा पशुपति आधारभूत विद्यालयको भवन पहिरोले पुरिएको र १७ जना फरक क्षमताका विद्यार्थीहरूलाई गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको जनाइएको छ । सिन्धुलीकै कुशेश्वर दुम्जा गाउँपालिकाको महादेव विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।