भोलि देखि तीन दिन विद्यालय बन्द शिक्षा मन्त्रालयको अपिल

काठमाडौँ /१२ असोज – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशमा आएको अविरल वर्षाबाट भएको भौतिक र मानवीय क्षतिका कारण भोलि देखि तीन दिन विद्यालय बन्द, सबै परीक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ । मन्त्रालयले शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै सो आग्रह गरेको हो ।


विज्ञप्तिमा अविरल वर्षाको कारण देशभर भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै विश्वविद्यालय सहित सबै शैक्षिक संस्थाका परीक्षा स्थगित गर्ने र विद्यालयहरूमा उद्दार र विपद् व्यवस्थापन सहजताका लागि देशैभरका विद्यालय असोज १३ गतेदेखि ३ दिन सम्म बन्द गर्न आग्रह गरेको छ ।


स्थगित परीक्षा परिस्थिति आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गरेको छ । साथै विपद्मा परि ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली सहित परिवारजनमा मन्त्रालयले गहिरो समवेदना प्रकट गरेको छ ।


यसअघि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन सम्बन्धी आकस्मिक बैठकले गरेको निर्णय अनुसार सो अनुरोध गरेको शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।