प्राविधिक र व्यावसायिक शिक्षालाई छुट्याउनु पर्छ : शिक्षा मन्त्री भट्टराई

काठमाडौँ /८ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राविधिक र व्यावसायिक शिक्षालाई छुट्टा छुट्टै बनाएर लैजानु पर्ने बताएकी छन् । प्राविधिक तथा व्यावसायिक शिक्षालाई व्यवस्थापन गर्न आवश्यक रहेको बताउँदै प्राविधिक र व्यावसायिक शिक्षालाई छुट्याएर लैजानु पर्ने बताएकी हुन् ।


सोमवार टिइभिटी विधेयक सम्बन्धी विभिन्न संगठनका विद्यार्थी नेताहरूसँग सुझाबका लागि मन्त्रालयले आयोजना गरेको छलफलमा बोल्दै प्राविधिक शिक्षालाई व्यवस्थित गर्न आवश्यक रहेको, प्राविधिक शिक्षाको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने र चिकित्सा शिक्षा आयोगसँग बाझिएका विषयहरूमा समझदारी भएर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरिन ।


उनले आफू जहिले पनि सुशासनको पक्षमा लड्ने प्रतिबद्धता व्यक्त गर्दै टिइभिटी विधेयकले सिटिइभिटी र मन्त्रालयले सञ्चालन गरेको कक्षा ९-१२ को प्राविधिक धारलाई समावेश गर्ने बताइन । साथै सिटिइभिटीको पाठ्यक्रम कस्तो हुने सन्दर्भमा समितिले प्रतिवेदन बुझाई सकेको र पाठ्यक्रमलाई रिभ्यु गरिने जानकारी दिइन ।


अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले सिटिइभिटीको पाठ्यक्रममा धेरै अनावश्यक कुरा राखिएकोले त्यसको पाठ्यभार घटाउनु पर्ने धारणा व्यक्त गरे । उनले कक्षा १२ सम्म माध्यमिक तह भएको र स्थानीय तह अन्तर्गत राखिएकोले पिसिएल तह कता हुने भन्ने विषय अन्यो भएको बताउँदै यसबारेमा मन्त्रालयले प्रस्ट पार्नुपर्ने बताए ।


नेविसंघका केन्द्रीय सदस्य कर्ण बहादुर शाहीले आवश्यकताका आधारमा सम्बन्धन दिनुपर्ने, कक्षा ९-१२ को कार्यक्रम र सिटिइभिटीका कार्यक्रम एउटै बनाउनुपर्ने, पाठ्यक्रम धरै भएकोले घटाउनुपर्ने, परीक्षा कडा हुने गरेकोले ५० प्रतिशत प्रयोगात्मक राख्नुपर्ने सुझाब दिए ।


अखिल क्रान्तिकारी माओवादीका गिरेन्द्र विष्टले प्राविधिक शिक्षालाई सबैको पहुँचमा पु¥याउनुका लागि निःशुल्क गर्नुपर्ने र प्राविधिक शिक्षा पढेका विद्यार्थी बेरोजगार हुँदा विदेश पलायन हुन बाध्य भएकोले यस बारेमा ध्यान दिन सुझाब दिए । अखिल समाजवादीका महासचिव प्रकाश सीले शिक्षकहरूलाई दलिए राजनीति गर्न बन्द गर्नुपर्ने, आवश्यकताका आधारमा शिक्षालय खोल्दा दोहोरिएका विषयलाई ध्यान दिनुपर्ने र पाठ्यक्रमलाई घटाएर कोर्सको वर्ष घटाउनु पर्ने धारणा राखे । राष्ट्रिय क्रान्तिकारीका डिबी शाहीले पाठ्यक्रमलाई सिपसँग नजोडिएकोले सिटिइभिटी प्राविधिक वेरोजगारहरू उत्पादन गर्ने थलो बनेको बताउँदै पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा जोड दिए ।