काठमाडौँ /८ असोज – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७९ अद्यावधिका लागि पाठ्यक्रम विकास केन्द्रले विज्ञ तथा सरोकारवालाहरूसँगको छलफललाई तिब्रता दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पाठ्यक्रम परिमार्जन गर्नका लागि निर्देशन दिएपछि केन्द्रले सरोकारवालाहरूसँग पृष्ठपोषण लिनका लागि सघन छलफल तथा अन्तरक्रिया कार्यक्रम चलाएको हो ।
शिक्षालाई व्यावसायिक, रोजगारमूलक, समकालीन समाज र अन्तर्राष्ट्रिय स्तरको बनाउने उदेश्यले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न लागिएको केन्द्रले जनाएको छ । यस बारेमा रणनीतिक योजना शिक्षा मन्त्री समक्ष पेस गरिसकेको मन्त्रालय स्रोतले जनाएको छ ।
परिमार्जन गर्ने पाठ्यक्रममा विद्यालय सिकाईको गुणस्तर र विद्यार्थीको सिकाई उपलब्धिलाई अभिवृद्धि गर्ने उदेश्यसहित समूह मिलान गर्ने, विषय थप गर्ने, स्थानीय पाठ्यक्रमलाई व्यवस्थित गर्ने, विषय वस्तु सरलीकरण गर्ने लगायतका विषयहरू समावेश गरेको छ ।



