काठमाडौं/२७ भदौं – बालदिवसको अवसरमा बुढानीलकण्ठ नगरस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता हुने भएको छ । बुढानीलकण्ठ स्थित इम्पेरियल वर्ल्ड स्कुल र श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालयको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो ।
बालअधिकारको सम्मान, समृद्ध राष्ट्रको पहिचान भन्ने मुल नाराका साथ यही भदौँ २८ गते शुक्रवार इम्पेरियल वर्ल्ड स्कुलमा प्रतियोगिता हुने स्कुलले जनाएको छ । प्रतियोगिता सामुदायिक निजी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको छ ।
इम्पेरियल वर्ल्ड स्कुलकी प्रिन्सिपल जुनीता शाही कार्कीले प्रतियोगिता सामुदायिक निजी साझेदारी कार्यक्रम अन्तर्गत बालदिवसको अवसरमा बुढानीलकण्ठ नगरस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन । उनले यो साझेदारीले निजी र सामुदायिक विद्यालयबिचको सम्बन्ध अझै उचाइमा पुग्नुका साथै सिकाई आदान प्रदानका लागि सहयोगी भूमिका खेल्न सक्ने बताइन । प्रतियोगितामा निजी विद्यालय भन्दा धेरै सामुदायिक विद्यालयको सहभागीता हुने कार्कीले जानकारी दिइन ।
इम्पेरियल वर्ल्ड स्कुलले बुढानीलकण्ठ नगरपालिकामा रहेको श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालयलाई शिक्षक तालिम र कक्षा कोठा व्यवस्थापनमा सहयोग गर्दै आएको छ भने विद्यार्थीहरूबिच सिकाई आदान प्रदान गर्दै आएको छ ।