सबै अस्थायी शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लैजानु पर्छ : शिक्षामन्त्री

काठमाडौं/२७ भदौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सबै प्रकृतिका अस्थायी शिक्षक र विद्यालय कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा लैजान अर्थ मन्त्रालयसँग कुरा भईरहेको बताएकी छन् । सामुदायिक विद्यालयका इसिडी शिक्षक, राहत शिक्षक र विद्यालय कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा लैजाने तयारी भएको बताएकी हुन् ।


खबर एजुकेशनले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सबै शिक्षकहरूलाई सुरक्षित, मर्यादित र सम्मानित गर्नुपर्ने र सामुदायिक तथा निजि विद्यालयका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा लैजान सके शिक्षकहरू सुरक्षित, मर्यादित र सम्मानित हुने बताइन ।


‘बालविकास शिक्षकहरूलाई मर्यादित मात्रै नभई सुरक्षित कसरी बनाउने भन्दा उही कुरा आउँछ पैसा छैन । मलाई के लाग्यो भने कम्तीमा उहाँहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गरीयो भने त्यसले केही उपलब्धि हुन्छ की भन्ने लागेको छ । यो प्रस्ताव अर्थ मन्त्रीसँग राखि पनि सकेको छु’ उनले भनिन् ।


त्यसैगरी अहिले स्थायित्वको माग गरिरहेका राहत शिक्षकहरूलाई पनि सामाजिक सुरक्षा कोषमा लानुपर्ने धारणा व्यक्त गरेकी छन् । एकै पटक सबैलाई लान नसकेपनि इसिडी शिक्षकबाट सुरुवात गरिने र सबैलाई सामाजिक सुरक्षा कोषमा लैजाने योजना रहेको उनको भनाई छ ।


धेरै शिक्षक र विद्यालय कर्मचारी ६० वर्ष पुरा गर्दा पनि केही नपाएको गुनासो आउने गरेको बताउँदै यसलाई सामाजिक सुरक्षा कोषबाट सम्बोधन गर्न सकिने उनिहरूलाई सम्मान हुने धारणा मन्त्री भट्टराईको छ । विद्यालय कर्मचारीलाई सरकारले कुनै पद र पोजिसन नदिएको अवस्थामा यसमा पनि छलफल गर्न आवश्यक रहेको बताइन ।


मन्त्री भट्टराईले निजि स्कुलका शिक्षकहरूलाई पनि सुरक्षित, मर्यादित र सम्मानित बनाउन सामाजिक सुरक्षा कोसमा समावेश गरिने बताइन । तर सामुदायिक विद्यालयका शिक्षकहरूलाई राज्यले लगानी गरेपनि निजि विद्यालयका शिक्षकहरूलाई विद्यालयले नै यसको व्यवस्था गर्नुपर्ने छ । केही स्कुलले यसको सुरुवात गरेपनि धेरै स्कुलले नगरेको भन्दै यसलाई सामाजिक सुरक्षा कोषमा लैजानु पर्नेमा जोड् दिएकी छन् ।


उनले भनिन् ‘मलाई निजी विद्यालय बन्द गर्न लाग्नु भो धरैले भन्ने गर्नुभएको छ । तर, त्यहाँका शिक्षकले आज त डरले पढाउनु भयो होला, ती शिक्षकलाई पनि सुरक्षित गराउन सकेनौँ भने मलाई लाग्छ निजीले जतिलाई समेटी रहेको छ, उहाँहरू पनि त अप्ठेरोमा पर्नु होलानी ।’