सिपिइसीले सञ्चालन गरेको ६ लघु तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

काठमाडौँ /१३ साउन – काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन अन्तर्गत सिपिइसीले सञ्चालन गरेको ६ वटा लघु तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरि दीक्षित गरेको छ । २०२४ जनवरी देखि सुरु भई जुनमा सम्पन्न भएको तीन क्रेडिट आवरको रहेको उतm तालिममा सहभागी भएकाहरूलाई प्रमाणपत्र वितरण गरि दीक्षित गरेको हो ।


प्रा.डा. हेम राज काफ्लेले तीन क्रेडिटको तालिमलाई जोडिदै २७ क्रेडिट पुगे पछि एक वर्षीय स्नातकोत्तर तहको प्रमाणपत्र प्राप्त गर्न सकिने जानकारी दिए । कार्यक्रमको दौरानमा सिपिइसीका सन्दीप ढुङ्गानाले हालसम्म सिपिइसीले गरेका कार्यक्रम तथा दीक्षित सहभागीहरूको बारेमा बताएका थिए ।


६ वटा तालिममा सहभागीहरू मध्येबाट हरेक तालिमको एक एक जना सहभागीले तालिमबाट प्राप्त ज्ञान तथा सीपबारे आ—आफ्नो भनाईहरू राखेका थिए । लाइब्रेरी तथा सूचना केन्द्र व्यवस्थापन तालिमका सहभागी शंकर प्रसाद जोशी, समावेशी शिक्षाका सहभागी अनुषा अर्याल, विद्यालय नेतृत्वको वास्तविकताका सहभागी भानदेव कपाडी, प्रारम्भिक बालविकासका सहभागी सुवेक्क्षा सिंह, स्टिम शिक्षण पद्धतिका सहभागी रमेश जंगकुवँर तथा टेकएडु नेक्ससका सहभागी रोजीता श्रेष्ठले तालिमले ज्ञान र सीपमा ल्याएको परिवर्तन बारे बोलेका थिए । उनीहरूले ज्ञान तथा सीपहरूलाई आफ्नो कार्यक्षेत्रमा प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।


प्रमाणपत्र वितरण काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुईटेल र प्रा.डा. प्रकाशचन्द्र भट्टराईद्धारा गरिएको थियो । प्रा.डा. बालचन्द्र लुईटेलले यस किसिमको तालिमले समयको माग बमोजिम ज्ञान र सीपलाई थप गर्दै लैजाने हुँदा तालिमको महत्व रहेको विचार व्यक्त गरे ।


त्यसैगरी प्रा.डा. प्रकाशचन्द्र भट्टराईले सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद दिँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नका लागि आग्रह गरे ।