भक्तपुर/११ साउन – नेशनल प्याब्सन भक्तपुरमा आबद्ध विद्यालयहरू बिच अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको हो । चाँगुनारायण नगरपालिका वडा नं २ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
अन्तर विद्यालय अङ्ग्रेजी हिज्जे प्रतियोगितामा सूर्यविनायक–९ भक्तपुरमा रहेको मदरल्याण्ड स्कुल विजेता भएको छ । त्यस्तै गरी द्वितीय स्थान ईडेन गार्डेन स्कुल, तृतीय स्थान सेन्ट जोन स्कुल र सान्त्वना स्थान युनिटी स्कुलले प्राप्त गर्न सफल भएका छन् ।
आधारभूत तहको उक्त प्रतियोगितामा १९ वटा विद्यालयहरूले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा १० वटा स्कुलको प्रतिस्पर्धाबाट क्रमशः प्रथम, द्वितीय र तृतीय मदरल्याण्ड, सेन्ट जोन र एसएस सदन त्यसै गरी दोस्रो चरणमा ९ वटा विद्यालयको प्रतिस्पर्धाबाट क्रमशः प्रथम, द्वितीय र तृतीय ईडेन गार्डेन, युनिटी र ग्लीटर फ्युचर स्कुल गरी ६ वटा स्कुलका टिम फाइनल चरणमा प्रतिस्पर्धा गरेको जानकारी आयोजक स्कुल ऋतम्भरा पाठशालाको शिक्षक तथा कार्यक्रम संयोजक अनिश खत्रीले जानकारी दिए ।
ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीको सभापतित्व तथा चाँगुनारायण नगरपालिका २ का वडाध्यक्ष सोम प्रसाद प्रधानको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि चानपा शिक्षा शाखा प्रमुख दिनेश अर्याल, नेशनल प्याब्सन केन्द्रीय सदस्य गोविन्द बहादुर खड्का र नेसनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्का लगाएतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ देखि यस्ता विविध प्रतियोगितात्मक कार्यक्रम आफ्ना सदस्य विद्यालयहरूलाई आयोजना गर्ने जिम्मा दिदै आएको छ ।



