काठमाडौँ/११ साउन – पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको केही संरचनामा परिमार्जन गर्ने लागिएको बताएका छन् । पाठ्यक्रम भित्रका केही विषयवस्तुहरू समयानुकूल नभएको भन्दै संरचनामा परिमार्जन गर्न लागिएको बताएका हुन् ।
बुधवार खबर एजुकेशनले आयोजना गरेको विद्यालय शिक्षाको पाठ्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पाठ्यक्रम धेरै भारी हुँदा त्यसभित्र रहेका कन्टेन्ट विद्यार्थीका लागि प्रयोग विहीन भएको र त्यसलाई सरल बनाउनुपर्ने आवश्यकता देखिएकाले परिमार्जनका गर्नका लागि काम भईरहेको बताए ।
उनले पाठ्यक्रम बनाउने व्यक्ति प्रोफेसर र शिक्षक भएकोले कन्टेन्ट गाह्रो राख्दा आफ्नो भ्यालु धेरै हुने सोचका कारण बनाइएको जस्तो आफूलाई लागेकोले यसलाई परिमार्जन गर्न लागिएको जानकारी दिए ।
कन्टेन्ट भनेको एउटा माध्यम हो । पहिला पहिला धेरै पुस्तकालय र अन्य माध्यमहरू हुने थिएनन् । किताब भनेकै सबै कुरा थियो, तर अहिले त्यस्तो छैन, बालबालिकाले अरू माध्यमबाट पनि सिक्न सक्छन् । पाठ्यक्रममा व्यवहारिक विषय भन्दा सैद्धान्तिक विषय धेरै समावेश गरिएको छ । सैद्धान्तिक भन्दा व्यवहारिक कुरा सिकाउनुपर्ने समय आएकोले अब क्रियाकलापबाट सिकाई गर्न सकिएमात्रै प्रभावकारी हुन्छ उनले भने ।

श्रेष्ठले पाठ्यक्रम प्रारूप नै अर्कै बनाउने भनेर अगाडी बढाइएको तर आफू पाठ्यक्रम विकास केन्द्र आएपछि त्यसलाई रोकेर समसामयिक विषय वस्तुमा परिमार्जन गर्नका लागि काम भईरहेको बताए । अहिलेको प्रारूप धेरै राम्रो भएको बताउँदै त्यसलाई भत्काउन नहुने तर त्यस भित्र परिमार्जन गर्न कारण सहितको सुझाब दिन शिक्षाविद् र विद्यालयका प्रधानाध्यापकहरूसँग आग्रह गरे ।
कक्षा ११ र १२ मा भाषा समूहबाट अर्को समूहमा भएको गणित, विज्ञान पढ्न नमिल्दा विद्यार्थीलाई समस्या भएको गुनासो आएपछि अहिले भएको समूहलाई परिमार्जन गरेर भाषाको समूह छुट्टै बनाउन लागिएको जानकारी दिए । त्यसैगरी कक्षा ४ देखि ८ सम्म १ हजार २४ वार्षिक कार्यघण्टालाई परिमार्जन गरेर ९ सय ६० कार्यघण्टा पाठ्यक्रम प्रारूपमा समावेश गरिने बताए ।
मातृभाषा स्थानीय भाषा राखिएकोमा त्यसमा कसैले मातृभाषा मात्रै वा स्थानीय भाषा मात्रै पढाउँदा यसले भाषालाई खण्डित गरेको बताउँदै मातृभाषाको पाठ्यक्रम केन्द्रले नै बनाउनै तयारी रहेको जानकारी दिए । साथै सामाजिक अध्ययन र मानव मूल्य शिक्षाको पाठ्यपुस्तकमा विश्वविद्यालयमा पढ्ने कुरा धेरै थोपरिएकोले पुस्तकमा परिवर्तन गरिने र शैक्षिक सत्र २०८२ देखि पाठ्यपुस्तक सरल बनाएर पठाइने बताए ।
रातो बंगला स्कुलकी संस्थापक निर्देशक डा. शान्ता दीक्षितले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम एकीकृत स्वरूपको भएपनि बालबालिकाले बुझन सक्ने पाठ्यपुस्तक नभएको बताइन । बालबालिकाका लागि शिक्षकले सहयोग गर्नुहुन्छ, मेरो जस्तो समस्या साथीहरूको पनि छ भनेर सोच्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन । साथै बालबालिकाको मनोविज्ञान अनुसार पठनपाठन गर्नुपर्ने र त्यसका लागि शिक्षकहरूलाई तालिमको आवश्यकता रहेको उनको भनाई थियो ।
शिक्षाविद् मेदीन लामिछानेले पाठ्यक्रम संरचनालाई हेर्दा हामी ठिक ठाउँमा रहेपनि कार्यघण्टा धेरै हुँदा विद्यार्थीलाई फुर्सद नहुने र शिक्षकलाई तयारी गर्ने समय अपुग भएको बताए । यसका लागि पाठ्यक्रमले कार्यघण्टा घटाउनुपर्ने सुझाब दिए । साथै कन्टेन्टको सवालमा विश्वव्यापी रूपमा तुलना गरेर मिलाउन आवश्यक रहेको उनको भनाई थियो ।
लामिछानेले सार्वजनिक विद्यालयमा विषय शिक्षकको अभावले कम क्षमता भएका शिक्षकले पढाउने गरेको, अन्य विषयका शिक्षकले पढाउनु पर्ने अवस्था रहेकोले यसमा सुधार गर्नुपर्नेमा जोड्दिए । उनले पाठ्यक्रमसँगै शिक्षक र प्रश्नपत्रमा पनि समस्या देखिएकोले सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
अर्का शिक्षाविद् रमेश अवस्थीले पाठ्यक्रम लागु गरिए पनि कार्यान्वयनमा समस्या आएको विचार राखे । सक्षमताका आधारमा केही कुरा छुटेको बताउँदै सिकाई उपलब्धिका आधारमा सक्षमता बनाउनुपर्नेमा जोड दिए । साथै नीति र पाठ्यक्रममा भन्दा पनि कक्षाकोठाको सिकाई कमजोर भएको उनको भनाई थियो ।
नील वाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. जानुका नेपालले पाठ्यक्रम राम्रो भएपनि डेलीभरीमा समस्या आएको र शिक्षकहरू पाठ्यक्रम भन्दा पाठ्यपुस्तकमा केन्द्रीत भएका कारण विद्यार्थीको सिकाईमा समस्या आएको बताइन । उनले कार्यघण्टा धेरै हुँदा शिक्षकहरूले तयारी गर्न नपाएको र शिक्षकहरूले पर्याप्त मात्रामा तालिम नपाउँदा प्रभावकारी नदेखिएकोले यसमा सुधार गर्नुपर्ने धारणा राखिन ।
सहभागी सरोकारवालाहरूले पाठ्यक्रमको संरचना राम्रो भएपनि कार्यान्वयनमा समस्या भएको धारणा राखेका थिए । उनीहरूले शिक्षकलाई तालिमको अभाव, शैक्षिक सामग्रीको कमी, कार्यघण्टा धेरै हुँदा शिक्षकले तयारी गर्ने समयको अभाव र पाठ्यक्रममा व्यवहारिक पक्ष भन्दा सैद्धान्तिक पक्ष धेरै राखिएकोले यसलाई संशोधन गर्न आवश्यक रहेको सुझाब दिए ।



