संस्थागत विद्यालयको निरन्तर अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषणका लागि सहकार्य

काठमाडौँ /१० साउन – गुणस्तरीय शिक्षा आजको जल्दोबल्दो आवश्यकता भन्ने मुख्य अभिप्रायका साथ काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र रोशी गाउँपालिका वडा नं. ७, कटुन्जे बेसीमा अवस्थित प्रगति किरण अङ्ग्रेजी माध्यमिक विद्यालयबिच सम्झौता भएको छ ।


विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिइसी) मार्फत संस्थागत विद्यालयहरूको आवश्यकता पहिचान, कार्ययोजना, कार्यशाला कार्यक्रमहरूको कार्यान्वयन, निरन्तर अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण र सहयोग तथा कार्यसम्पादनका निम्ति सम्झौता भएको हो ।


काठमाडौँ विश्वविद्यालयको तर्फबाट एसोसिएट डिन प्रा.डा. हेमराज काफ्ले र प्रगति किरण अङ्ग्रेजी माध्यमिक विद्यालयको तर्फबाट प्रिन्सिपल कृष्ण प्रसाद न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


प्रा.डा.काफ्लेले यस सहकार्यबाट शिक्षकको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१ औँ शताब्दीका सीपहरू एवं सेवा आदान प्रदान हुने कुरा व्यक्त गरे ।


विद्यालयका तर्पmबाट विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद न्यौपानेले विश्वविद्यालय सँगको सहकार्यले शिक्षा आर्जनका निम्ति विद्यालयको ढोकासम्म आइपुगेका सम्पूर्ण बालबालिकाहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने तथा शिक्षक, विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने दृढ विश्वास रहेको विचार व्यक्त गरे ।
दुवै पक्षले कार्यक्रमको सफलताको लागि सम्झौता अनुसारको कार्यक्रम तोकिएको समयावधिभित्र कार्यान्वयन गर्ने र यसका लागि आवश्यक वातावरणको तयारी गर्ने कुरामा प्रतिबद्धता समेत जनाएका छन् ।