विद्यालयका नृत्य प्रशिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्न लोक नृत्य कार्यशालाको आयोजना

काठमाडौँ /२१ असार – विगत १२ वर्षदेखि नेपाली कला र संस्कृतिको नृत्य क्षेत्रबाट टेवा पुर्‍याइरहेको डिस्कभर नेपाल डान्स् थिएटर (डिएनटिटी)ले यही असार २२ र २३ गते राष्ट्रिय स्तरको लोक नृत्य कार्यशाला आयोजना गर्ने भएको छ । आदिवासी मूलवासी बसोबास क्षेत्रमा रहेको सम्पूर्ण नेपालीहरूको स्थानीय भाषा, भेषभूषा र तालवाद्यको संयोजनमा उत्कृष्ट तथा लोपोन्मुख लोक नृत्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाएको हो ।


त्रिविअन्तर्गत सेन्ट्रल डिपार्टमेन्ट अफ फाइन आर्टस् तर्फ नृत्य विषयमा एमफिल तथा पिएचडी गर्दै गरेकी डिएनटिटीका संस्थापक अध्यक्ष भावना कार्कीले डिएनटिटीले राष्ट्रकै संस्कृतिलाई यथासम्भव प्रवर्धन गरिरहेको बताउँदै असार २२ र २३ गते हुने लोक नृत्य कार्यशालाले नेपालको लोक नृत्य, यहाँको सुन्दरता र संस्कृतिलाई अझ उच्च स्थानमा पुर्‍याउन सहयोग पुग्ने र नृत्यलाई बुझन सकिने बताइन ।


कोशी प्रदेशको मौलिक संस्कृति झल्काउने सन्थाल र सुनुवार जातिको लोपोन्मुख अवस्थाका स्यादर नाचलाई संरक्षण तथा संवर्धन गरी नेपाली मूलवासी आदिवासी जातिहरूको नाचलाई जोगाउनु र अनुसन्धानको विषय बनाउनु नै यस कार्यशालाको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।


यस किसिमका कार्यशालाले विद्यालयका नृत्य प्रशिक्षकहरूलाई सैद्धान्तिक र प्रयोगात्मक दुवै विषयमा निपूर्ण बनाउने र नेपाल सरकारको पाठ्यक्रम अन्तर्गत राखिएको लोक नृत्य जस्ता शीर्षकहरूमा विद्यार्थीहरूको पठनपाठनलाई पनि ठूलो सहयोग पुग्ने विश्वस्त रहेको कार्कीले बताइन । साथै देशका विभिन्न विद्यालयका नृत्य प्रशिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्नका लागि यो कार्यक्रमले ठुलो भूमिका खेल्न सक्ने उनले धारणा व्यक्त गरिन ।


कार्कीले नेपाली सेनाको विशेष सांस्कृतिक कार्यक्रमहरूमा विगत एक दशकदेखि नृत्य निर्देशकको रूपमा समेत आफ्नो पहिचान बनाइसकेकी छन् । साथै उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा निरन्तर कार्यशाला तथा नृत्य सम्बन्धी प्रशिक्षण दिइ सकेकी छन् ।


कार्यशालाका प्रमुख प्रशिक्षक रोचक थापाका अनुसार सातै प्रदेशबाट सहभागीहरू भेला हुन गइरहेको राष्ट्रिय स्तरको यस कार्यशालाले हाम्रो देशको सांस्कृतिक विविधताको महत्वलाई नृत्य विधाले समेटिएको बताए । उनले लोक नृत्य सम्बन्धी विभिन्न पुस्तक प्रकाशनमा ल्याएका छन् ।


कार्यशालामा त्रिविको संस्कृति केन्द्रीय विभागका सह प्राध्यापक लोक नाथ दुलाल अतिथि व्याख्याताको रूपमा रहेका छन् । यस कार्यशालालाई सुनार सेवा समाज सङ्घीय समितिका अध्यक्ष अमृत बहादुर सुनार र नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्ष सुन्दर बेसराको समेत सहयोग रहेको छ । साथै नृत्य निर्देशक सुनील थापा, युवा प्रशिक्षक जिदान मार्दीको कार्यक्रममा उपस्थिति रहने सहसंयोजक नारायणी थापा मगरले बताए ।