आर्जित ज्ञान र सिप नेपालको दिगो विकासका लागि सदुपयोग गर्नुहोस : प्रधानमन्त्री

चितवन/३ असार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको बताउँदै प्राप्त गरेको ज्ञान र सिपलाई देशको विकासमा लगाउन आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सोमवार सम्बोधन गर्दै सो कुरा बताएका हुन ।


उनले भने “कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको र भेटेनरी विषयमा विद्यार्थी सङ्ख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको छ ।” साथै विश्वविद्यालय शिक्षामा शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा जोड् दिए ।


प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्ने उनको भनाई थियो । उनले आगामी दिनमा विश्वविद्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने समेत विश्वास दिलाएका छन् ।


प्रधानमन्त्री प्रचण्डले दीक्षित हुने सबै विद्यार्थीलाई अपिल गर्दै विश्वविद्यालयबाट प्राप्त गरेको ज्ञान र सिपलाई देश र मानव जातीका लागि समर्पण र सदुपयोग गर्न अपेक्षा राखेको बताए । साथै दीक्षित हुने विद्यार्थीलाई देश भित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सिप नेपालको दिगो विकासको लागि सदुपयोग गर्न संकल्प गर्ने दिन भएको बताए । उनले विश्वविद्यालयको दिगो विकासका लागि आफूले निरन्तर पहल गर्ने बताए ।