ईप्सन हिज्जेमा युनिटी प्रथम र ईडेन द्वितीय

भक्तपुर/२ असार – ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अङ्ग्रेजी हिज्जे प्रतियोगिता–२०८१ सम्पन्न भएको छ ।


हिज्जे प्रतियोगितामा युनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्वितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।


भक्तपुर जिल्लामा रहेका ११ वटा संस्थागत स्कुलहरूको सामुहिक समूह एडिफाई प्राइभेट स्कुल अर्गनाइजेशन नेपाल (ईप्सन) ले सदस्य स्कुलहरूको विकास र विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रम गर्दै आएको छ । ईप्सन भक्तपुरमा क्वालिटी स्कुल, सूर्योदय सेकेन्डरी स्कुल, मदरल्याण्ड स्कुल, हिमाल एकेडेमी, ग्लोबल एकेडेमी, पारिजात विद्याकुन्ज, सेन्ट जोन स्कुल, ईडेन गार्डेन, यूनिटी स्कुल, विमल मेमोरियल विद्यापीठ र नगरकोट सनराइज रहेका छन् ।


हिज्जे प्रतियोगितामा आयोजक मदरल्याण्ड स्कुलले सहभागी जनाएको थिएन । प्रतियोगितामा ९ वटा स्कुलका कक्षा ६ देखि ८ का विद्यार्थीहरू ४ जनाको समूहले प्रतिस्पर्धा गरेका थिए ।


कार्यक्रममा ईप्सनका सचिव विजय कर्माचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप हौसला प्रदान गरेको बताए । त्यसै गरी ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्काले मदरल्याण्ड स्कुलले निकै नै व्यवस्थित र अनुसरणीय कार्यक्रम गर्न सफल भएकोमा शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरूको सफलता नै ईप्सनको जित भएको धारणा व्यक्त गरे ।


समापन कार्यक्रममा सबै सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र, विजेता विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।