विद्यार्थीको शैक्षिकस्तर सुधार गर्न सहकार्य

काठमाडौँ /१ असार – गुणस्तरीय शिक्षा आजको जल्दोबल्दो आवश्यकता भन्ने मुख्य अभिप्रायका साथ काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र चन्द्रागिरि नगरपालिका स्थित बालतारा प्रतिष्ठान (लिटिल स्टार्स एकेडेमी) बीच सम्झौता भएको छ । विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिईसी) मार्फत संस्थागत विद्यालयहरूको आवश्यकता पहिचान, कार्ययोजना, कार्यशाला कार्यक्रमहरूको कार्यान्वयन, निरन्तर अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण र सहयोग तथा कार्यसम्पादनका लागि सम्झौता भएको हो ।


काठमाडौँ विश्वविद्यालयका तर्फबाट डिन प्रा . डा . बालचन्द्र लुइटेल र बालतारा प्रतिष्ठानको तर्फबाट प्रिन्सिपल दामोदर पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रा.डा. लुँइटेलले यस सहकार्यबाट शिक्षकको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१ औँ शताब्दीका सीपहरू एवं सेवा आदानप्रदान हुने बताए ।


विद्यालयका कार्यकारी निर्देशक कृष्ण भण्डारीले विश्वविद्यालयसँगको सहकार्यले शिक्षा आर्जनका निम्ति विद्यालयको ढोकासम्म आइपुगेका सम्पूर्ण बालबालिकाहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने तथा शिक्षक, विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए । दुबै पक्षले सम्झौता अनुसारको कार्यक्रम तोकिएको समयावधि भित्र कार्यान्वयन गर्ने र यसका लागि आवश्यक वातावरणको तयारी गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरेका थिए ।