शिक्षक सरुवासम्बन्धी निर्देशिका खारेज नगरे ८ संगठनले संयुक्त आन्दोलन गर्ने

काठमाडौँ /२९ जेठ – शिक्षक र विद्यालयसँग सरोकार राख्ने विभिन्न आठ संगठनहरूले शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ को विरोध गर्दै खारेजको माग गरेका छन् । निर्देशिका अव्यावहारिक हचुवाको भरमा विद्यालयको अवस्था नबुझि ल्याइएको भन्दै विरोध गरेका हुन् ।


सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा उपस्थित सबै संगठनहरूले निर्देशिकाको विरोध गरेका छन् । निर्देशिका सङ्घीयताको मर्म, अभिभावक र विद्यालय व्यवस्थापन समितिको अधिकार तथा आम शिक्षकको हितविपरित रहेको र यसबाट शिक्षक सरुवा प्रक्रिया जटिल हुने तथा विद्यालयको आवश्यकता अनुसार विद्यालयले शिक्षक व्यवस्थापन गर्न नपाउने अवस्था सिर्जना हुने उनिहरूको धारणा थियो ।


जेठ १३ गते सार्वजनिक गरिएको निर्देशिका तत्काल खारेज गरेर विद्यालय शिक्षा ऐन जारी नगरे सबै सरोकारवालाहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी उनिहरूको छ । अन्तरक्रिया पश्चात् उनिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर सो चेतावनी दिएका हुन ।


हेर्नुहोस विज्ञप्ति


नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८१ साल ज्येष्ठ १३ गते “शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१“ जारी भएको छ । यो निर्देशिका सङ्घीयताको मर्म, अभिभावक र विद्यालय व्यवस्थापन समितिको अधिकार तथा आम शिक्षकको हितविपरित रहेको छ । यसबाट शिक्षक सरुवा प्रक्रिया जटिल हुने तथा विद्यालयको आवश्यकता अनुसार विद्यालयले शिक्षक व्यवस्थापन गर्न नपाउने अवस्था सिर्जना हुन्छ । यो निर्देशिकाको कार्यान्वयनले सामुदायिक विद्यालय धराशयी हुने, शिक्षकहरूलाई हतोत्साही बनाउने, विद्यालय सञ्चालन र व्यवस्थापनमा समुदायको जिम्मेवारी र भूमिका खोसिने र सामुदायिक विद्यालय अझ कमजोर हुने भई सार्वजनिक शिक्षा समाप्त पारी महँगो शिक्षालाई प्रोत्साहित गर्ने प्रवृत्ति लाई सहयोग मिल्नेछ ।


त्यसैले हामी देहाय वमोजिमका शिक्षासँग सम्बद्ध सरोकारवालाहरू यो “शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१” खारेज गर्न र हामीहरूसँग विभिन्न समयमा भएका सहमतिहरू सम्बोधन हुने गरी संसदमा प्रक्रियामा रहेको विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गर्दछौँ । अन्यथा हामी सबै सरोकारवालाहरू आन्दोलनमा जान बाध्य हुने कुरा समेत जानकारी गराउँछौँ ।
शिक्षा सरोकार पक्ष :
१. गुणराज मुक्तान, अध्यक्ष, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल
२. लक्ष्मीकिशोर सुवेदी, अध्यक्ष, नेपाल शिक्षक महासङ्घ
३. सुप्रभात भण्डारी, अध्यक्ष, नेपाल अभिभावक महासङ्घ
४. सोमनाथ गिरि, अध्यक्ष, नेपाल शिक्षक संघ
५. विष्णु भण्डारी, अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन
६. शंकर अधिकारी, एकीकृत अखिल नेपाल शिक्षक संगठन
७. लछि राम शर्मा ढकाल अखिल नेपाल शिक्षक संगठन
८. केशव पुरी अध्यक्ष, अभिभावक संघ नेपाल