काठमाडौँ विश्वविद्यालय र इटहरी उपमहानगरबिच सम्झौता

काठमाडौँ /३० जेठ – काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र इटहरी उपमहानगरपालिकाबिच गुणस्तरीय तथा समावेशी शिक्षाका लागि सम्झौता भएको छ ।


काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपिइसि युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ भने कार्यक्रमको सुरुवातमा सिपिइसि यूनिटले इटहरी उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरूमा यसै आर्थिक वर्षमा अध्ययन सुरु गरि आवश्यकता पहिचान गर्नेछ । आवश्यकता पहिचानको आधारमा आगामी आर्थिक वर्षबाट कार्यक्रमको कार्ययोजना तयार गरि शिक्षक पेसागत तालिम कार्यक्रम, शिक्षामा सीप प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम, शिक्षण पद्धति, सिकाई उपलब्धि तथा मूल्याङ्कन कार्यक्रम र सकारात्मक अभिभावकत्व कार्यक्रम लागु गरिने जनाएको छ ।


यस कार्यक्रमबाट उपमहानगरपालिकामा रहेको शिक्षाको चुनौती, अवस्थाको विश्लेषणका साथै आगामी आर्थिक वर्षका लागि कार्ययोजना तयार गरि उपमहानगरपालिकाको गुणस्तरीय शिक्षामा हुने उपलब्धि तथा प्रभावहरूलाई समेटिने कुरामा दुवै संस्थाहरू विश्वस्त रहेको बताए ।


सम्झौता पत्रमा काठमाडौँ विश्वविद्यालयको तर्फबाट, स्कुल अफ एजुकेशनका एसोसिएट डीन डा. हेमराज काफ्ले, र इटहरी उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले हस्ताक्षर गरेका छन् ।