काठमाडौं/१९ जेठ – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत सञ्चालनमा रहेको सिपिइसीले शिक्षामा एआईको प्रयोगबारे कक्षा सञ्चालन गर्ने भएको छ । आधुनिक शैक्षिक अभ्यासहरूलाई अवलम्बन गर्न र शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन एआई जस्ता नवीनतम प्रविधिहरूको उपयोग गर्नु अपरिहार्य रहेकोले कक्षा सञ्चालन गर्ने भएको हो ।
काठमाडौँ विश्वविद्यालयको डिजिटल लर्निङ रिसर्च ल्याबका प्रमुख डा.सुशील श्रेष्ठले शिक्षक, शिक्षक शिक्षण कर्ता र अन्य आईसीटी उत्साहीहरूको लागि शिक्षा क्षेत्रमा एआई (Artificial Intlleigence in Education) सम्बन्धी पाठ्यक्रम निर्माण गरेको विश्वविद्यालयले जनाएको छ ।
कोर्समा एआईको परिचय, शिक्षामा एआईको प्रयोग, एआई प्रविधि र उपकरणहरू, तथा लर्निङ एनालिटिक्स, एजुकेशन डाटा माइनिङ, गेमिफाइड लर्निङ सिस्टम, पर्सनलाइज्ड लर्निङ सिस्टम जस्ता शिक्षामा एआईका अनुप्रयोगहरू, सामाजिक र नैतिक निहितार्थहरू, र शिक्षाको भविष्यका प्रवृत्तिहरू समावेश रहेका छन् ।
यो कोर्स अध्ययन गर्नका लागि शिक्षण सिकाइमा आईसीटी उपकरणहरूको प्रयोगको अनुभव भएको र एआई लर्निङ म्यानेजमेन्ट सिस्टमको आधारभूत ज्ञान भएको हुनुपर्ने छ ।
कोर्सले संलग्न सिकाइ विधि प्रयोग गर्नेछ, जसमा समकक्षी सिकाइ, अन्तरक्रिया, विभिन्न स्रोतहरू जस्तै लेख, ब्लग, भिडियो आदिको अध्ययन र छलफल गरिनेछ । सहभागीहरूलाई सकेसम्म बढी संलग्न गराउने प्रयास गरिनेछ । मूल्याङ्कनका लागि श्रेणीबद्ध प्रस्तुति, गृहकार्य र साना परियोजनाहरू आवश्यक पर्नेछन् ।
हप्तामा ४ घण्टा कक्षा हुने यो कोर्स १२ हप्ताको हुनेछ । मुख्यतया अनलाइन माध्यमबाट सञ्चालन गरिने भने केही कक्षाहरू भौतिक पनि हुनेछन् । कुल ४८ कार्य घण्टा रहने यो कोर्स सफलता पूर्वक सम्पन्न गर्दा ३ क्रेडिट प्राप्त हुनेछ ।
किन यो कोर्स ?
यस युगमा प्रविधिको गतिशील विकास हुँदै गएको छ । शिक्षा क्षेत्रपनि प्रविधिको यस विकासबाट अछुतो रहन सक्दैन । आधुनिक शैक्षिक अभ्यासहरूलाई अवलम्बन गर्न र शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन एआई जस्ता नवीनतम प्रविधिहरूको उपयोग गर्नु अपरिहार्य छ ।
शिक्षकहरूले शिक्षण पद्धतिलाई अद्यावधिक गर्न र विद्यार्थीहरूको सिकाइलाई बढी व्यक्तिगत र आकर्षक बनाउन एआई उपकरणहरू उपयोग गर्न सक्षम हुनुपर्छ । साथै, नैतिक र सामाजिक निहितार्थहरूको सम्बोधन गर्दै शिक्षा क्षेत्रका भावी प्रवृत्तिहरूको पूर्वानुमा नगरी तयारी अवस्थामा रहनु पनि आवश्यक छ । यसै सन्दर्भमा यो पाठ्यक्रम महत्त्वपूर्ण छ ।
