केन्द्रले भन्यो : निजी विद्यालयका शिक्षक कर्मचारीलाई कानुन अनुसारको सेवा सुविधा दिनु

काठमाडौँ /१७ जेठ – शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले निजी विद्यालयका शिक्षक कर्मचारीहरुको पेसागत सुरक्षाका लागि कानुनी व्यवस्था अनुसार कार्यन्वयन गर्न निर्देशन दिएको छ । निजी लगानीका विद्यालयका शिक्षक कर्मचारीहरुको पेसागत सुरक्षा संस्थागत विद्यालय शिक्षक युनियनले माग गरेको हुँदा कानुनी व्यवस्था अनुसार कार्यान्वयन गर्न भनेको हो ।


केन्द्रले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई परीपत्र जारी गर्दै सो निर्देशन दिएको छ ।


“निजी लगानीका विद्यालयका शिक्षक कर्मचारीहरुको पेसागत सुरक्षा सम्बन्धमा माग भएको विषय निर्णयार्थ पेस हुँदा शिक्षा ऐन, २०२८ को दफा १२ को उपदफा (७) तथा शिक्षा नियमावली, २०५९ को नियम १०५क. उपनियम (१), (२) र (३) ले सेवा सुविधाका बारेमा आवश्यक व्यवस्था गरेको हुँदा सोही व्यवस्थाको कार्यान्वयन गर्न गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत सबै शिक्षा विकास तथा समन्वय इकाइ तथा स्थानीय तहहरुलाई लेखी पठाउने भनी मिति २०८१।०२।०६ मा मन्त्रालय (सचिवस्तर) को निर्णय भएकाले सो अनुसार आवश्यक व्यवस्था हुन अनुरोध छ पत्रमा भनिएको छ ।”