कार्यतालिका भन्दा अगाडी नै एसईईको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड

काठमाडौँ /१७ जेठ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा कार्यतालिका भन्दा अगाडीनै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । एसईई २०८० को चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा कार्यतालिका भन्दा अगाडीनै सार्वजनिक गर्ने तयारी गरेको हो ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यतालिका भन्दा अगाडीनै एसईईको नतिजा सार्वजनिक गरिने जानकारी दिए । खबर एजुकेशनसँगको कुराकानीमा उनले भने “यसपालि चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई २०८० को नतिजा वार्षिक कार्यतालिका भन्दा अगाडी सार्वजनिक गर्ने तयारीमा छौं । एक दिन अगाडी भएपनि नतिजा सार्वजनिक हुन्छ । अर्को वर्ष भने नतिजा सार्वजनिक गर्ने दिन नै किटान गरेर वार्षिक कार्यतालिका सार्वजनिक गर्छौ ।”


उनले विद्यार्थीलाई सहजहोस भन्ने उदेश्यले जति सक्दो छिटो नतिजा सार्वजनिक गर्ने गरी काम भईरहेको बताए । साथै वार्षिक कार्यतालिकामा एसईईको नतिजा २०८१ असारको दोस्रो हप्ता भित्र सार्वजनिक गर्ने भनिएपनि त्यो भन्दा अगाडीनै नतिजा सार्वजनिक हुने शर्माले जानकारी दिए ।


एसईई परीक्षामा ४ लाख ६७ हजार विद्यार्थी सहभागी थिए ।