पूर्वाञ्चलका विद्यार्थीको आग्रह : हाम्रो भविष्य बिग्रने भो समयमै परीक्षा लिइदिनुस

विराटनगर/१० जेठ – पूर्वाञ्चल विश्वविद्यालय जनस्वास्थ्य स्नातक तह (बिपिएच) कार्यक्रम अन्तर्गत अन्तिम आठौँ सेमेस्टरका विद्यार्थीहरूले समयमै परीक्षा गरिदिन आग्रह गरेका छन् । उनीहरूले उपकुलपतिका नाममा पत्र लेख्दै अन्तिम परीक्षा समयमै सम्पन्न गरिदिनका लागि आग्रह गरेका हुन् ।


चिकित्सा शिक्षा आयोगले पुस महिनामा पोस्ट ग्रयाजुएट (पिजि)को प्रवेश परीक्षा सञ्चालन गर्ने र त्यसको लागि बिपिएचको लाइसेन्स आवश्यक पर्ने तर, नेपाल स्वास्थ्य व्यवसायीक परिषद्ले साउन दोस्रो हप्तामा नै लाइसेन्स परीक्षाको फारम खुलाउने भएकोले समयमै परीक्षा लिइदिनु आग्रह गरेका छन् ।


पत्रमा भनिएको छ “त्रिभुवन विश्वविद्यालयले २ महिना शैक्षिक सत्र ढिलो सुरु गरेर पनि वैशाख महिनामै चौथो वर्षको अन्तिम परीक्षा समयमै सक्यो । तर पूर्वाञ्चल विश्वविद्यालयमा जनस्वास्थ्य स्नातक तह (बिपिएच) कार्यक्रममाको २०८० साल मंसिर महिनामा ४ वर्ष सकिसकेको भएपनि अहिलेसम्म आठौँ सेमेस्टरको अन्तिम परीक्षाको तालिका ननिकालिएको र ढिला परीक्षा हुँदा हामीहरूको नतिजा साउन १५ सम्म पनि निकाल्न गारो हुने भएकाले हाम्रो शैक्षिक तथा व्यावसायिक भविष्यका लागि अत्यन्त महत्वपूर्ण छ ।”


विद्यार्थीहरूले समयमै परीक्षा सञ्चालन गरेर नतिजा समयमै नआए अन्तिम ४ वर्ष २०८० मंसिर मै सकिदा पनि २०८१ माघ सम्म कुनै पनि काम गर्नबाट बन्चित हुने, भदौँ महिनामा हुने लाइसेन्स परीक्षा छुट्ने, मंसिर महिनामा हुने लोकसेवा आयोगको परीक्षा दिन नपाउने, चिकित्सा शिक्षा आयोगको पोस्ट ग्रयाजुएट प्रवेश परीक्षामा सामेल हुन नपाउँने र १ वर्ष बेरोजगार तथा उच्च शिक्षाबाट वञ्चित हुने कारण खुलाउँदै उपकुलपतिलाई पत्र मार्फत परीक्षा गर्न आग्रह गरेका छन् ।


यस भन्दा अगाडी ७ सय भन्दा धेरै विद्यार्थीहरूको १ वर्ष खेर गैसकेको र अर्को वर्षपनि खेर जान दिनुहुने भन्दै उनीहरूले भादौँ महिनामा हुने लाइसेन्स परीक्षामा सामेल हुनु अन्तिम आठौँ सेमेस्टरको परीक्षा समयमा सम्पन्न गरी नतिजा साउन १५ सम्म निकालिदिन अनुरोध गरेका छन् ।